Comments Add Comment

हिरासतमा मृत्यु प्रकरण : रौतहटका दलित समुदाय पुनः आन्दोलित

१७ कत्तिक, रौतहट । रौतहट गरुडाका विजय रामको हिरासतमा मृत्यु भएको घटनाको दोषीलाई कारबाहीको माग गर्दै रौतहटका दलित समुदाय आन्दोलित भएका छन् ।

साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षका निरञ्जन रामको हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएको थियो ।

उनको मृत्युपछि आन्दोलित परिवारजन र स्थानीयले गृहमन्त्रालयका उपसचिवको संयोजकत्वमा छानबिन समिति गठन भए पनि सो छानबिन समितिको प्रतिवेदन अनुसार प्रहरी अधिकारीलाई कारवाही नभएको भन्दै सदरमुकाम गौरमा प्रर्दशन गरेका छन् ।

उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पनि बुझाएका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले हिरासतमा यातना दिएको भेटेपछि जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काको जिम्मेवारी खोसिएर उनको स्थानमा सिद्धिविक्रम शाहलाई पठाएको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेको थियो । यसै गरी प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविन कुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।

मुद्दा दर्ता भइसक्दा पनि यातना दिने प्रहरीहरुलाई कारवाही निलम्बन बाहेक अरु कुनै कारवाही हुन नसकेको प्रति दलित अगुवाहरुले आक्रोश पोखेका छन ।

‘दलितको विषयमा राज्यले जहिले पनि अवहेलना मात्रै गरेको छ’ दलित अगुवा धर्मेन्द्र पासवानले भने ‘हिरासतमा यातना दिएर मान्छे मार्ने तत्कालिन प्रहरी प्रमुखहरुलाई थुनामा राखेर छानबिन गर्नुपर्छ ।’

निरञ्जन, विजय राम हत्याकाण्डको सम्बन्धमा छानबिन, दोषि प्रहरीहरुलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्ति पाउनु पर्ने पीडित परिवारको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment