Comments Add Comment

भारतीय सेना प्रमुखको भ्रमणलाई दिल्लीमा निकै महत्वका साथ लिइएको छ : अशोक मेहता

१८ कात्तिक, काठमाडौं । वुधबार भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् । दुई देशको सम्बन्ध समान्य रहँदाको अवस्थामा भारतीय सेना प्रमुखको भ्रमण एउटा नियमित भ्रमण नै हो । सेना प्रमुखको कार्यभार सम्हालेलगत्तै दुवै देशका सेना प्रमुखले अर्को देशको मानार्थ महारथीको दर्जा लिने लामो समयदेखिको परम्परा छ ।

तर विगत एक वर्षदेखि नेपाल र भारतबीचमा सीमा विवादका कारण राजनीतिक र कूटनीतिक तहमा संवाद हुन सकेको छैन । त्यसमाथि पनि भारतीय सेना प्रमुखले नेपालले कसैको इशारामा कालापानीको विषय उठाएको अभिव्यक्ति दिएपछि नेपालमा त्यसको निकै आलोचना भयो । गत बर्ष दुई देशको बीचमा सीमा विवाद उत्पन्न भएपछि भारतको तर्फबाट हुन लागेको यो उच्च भ्रमण हो । यीनै विषयमा केन्द्रित रहेर भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहतासँग कमलदेव भट्टराईले गरेको कुराकानी :

भारतीय सेना प्रमुखले भोलिदेखि गर्न लागेको भ्रमणलाई कसरी हेर्नु भएको छ ?

यस पटक सम्बन्धमा गिरावट आएको समयमा यो भ्रमण हुन गइरहेको छ । यस अगाडि सेना प्रमुखको भ्रमण हुँदा नयाँ दिल्लीमा कम चासो हुने गर्दथ्यो तर अहिले भ्रमणलाई यहाँ निकै महत्वका साथ हेरिएको छ ।

दुई देशबीचको सम्बन्ध बिग्रिरहेको समयमा यो भ्रमण हुनु निकै सकारात्मक घटनाक्रम हो । विगत एक बर्षदेखि दुई देशको बीचमा राजनीतिक र कूटनीतिक तहमा कुराकानी भएको छैन । सेना प्रमुखको भ्रमणले अन्य वार्ताको लागि बाटो बनाउँछ र दुईपक्षीय सम्बन्धलाई सामान्यीकरण गर्न भूमिका खेल्छ ।

भारतीय सेना प्रमुखको भ्रमणको विशेष महत्व के हो ?

सामान्यतः सेना प्रमुखको भ्रमण एउटा रुटिन र नियमित भ्रमण हो । तर यस पटक सम्बन्धमा गिरावट आएको समयमा यो भ्रमण हुन गइरहेको छ । यस अगाडि सेना प्रमुखको भ्रमण हुँदा नयाँ दिल्लीमा कम चासो हुने गर्दथ्यो तर अहिले भ्रमणलाई यहाँ निकै महत्वका साथ हेरिएको छ ।

यही भ्रमणलाई लक्षित गरेर केही महत्वपूर्ण कार्यक्रम समेत भइरहेका छन् । उदाहरणका लागि सोमबार मनोहर परिकर इन्ष्टिच्युट अफ डिफेन्स एनालाइसिसले सैन्य सहकार्यसम्बन्धी एक कार्यक्रमको आयोजना गरेको थियो । उनको भ्रमणलाई दिल्लीमा नेपालसँगको सम्बन्ध सुधारको लागि उपयोग गर्न सकिने रुपमा लिइएको छ ।

दुई देशका सेनाहरुको सम्बन्ध चाहिँ कस्तो छ ?

दुई देशका सेनाहरुको बीचको सम्बन्ध एकदमै पुरानो हो । दुई देशका सेनाको बीचमा के के सम्बन्ध छ भन्ने विषयमा मैले सन् २००५ मा लेखेको पुस्तकमा विस्तृतमा उल्लेख गरेको छु । सन् १९५० देखि नै भारतीय सेनाले नेपाली सेनाको आधुनिकीकरणमा सहयोग गरेको छ । यति मात्र होइन, विगतमा नेपालले नै तालिमका लागि भारतीय सेनाको सहयोग लिएको छ ।

दुई देशको बीचमा सूर्यकिरण नामक संयुक्त अभ्यास पनि भइरहेको छ । यसका साथै नेपाली सेनाका अफिसरहरु तालिमका लागि भारतमा आउने गर्दछन् । भारतीय सेनाले तालिमका लागि दक्षिण एसियामा नै सबैभन्दा धेरै भ्याकेन्सी नेपाली सेनालाई प्रदान गर्दै हाएको छ । यस बाहेक दुई देशका सुरक्षासम्बन्धी परामर्श संयन्त्र रहेको छ, जसको बैठक निरन्तर रुपमा हुने गर्दछ ।

नेपालमा कुनै विपद् र अन्य खालका घटना हुँदा पनि भारतीय सेना नै पहिला सहयोगका लागि नेपाल पुग्ने गर्दछ । उदाहरणको लागि सन् २०१५ को भुइँचालोको समयको नै कुरा गरौं । त्यतिबेला सबैभन्दा पहिला भारतीय सेनाको एयरफोर्स सहयोग सामग्री र उद्धार सामाग्रीसहित काठमाडौँ पुगेको थियो ।

यसबाहेक भारतीय सेना र नेपालीको बीचमा पनि गहकिलो सम्बन्ध रहेको छ । ४० हजार नेपाली सेना भारतीय सेनाको गोर्खा पल्टनमा काम गरिरहेका छन् । त्यसैगरी १ लाख ५० हजारभन्दा बढी पेन्सन प्राप्त गर्नेहरु छन् । उनीहरुका लागि भारत सरकारले विशेष सुविधाको ब्यवस्था गरेको छ ।

पछिल्लो समयमा नेपाली सेना र चिनियाँ सेनाको बीचमा पनि सम्बन्ध सुदृढ हुँदै गएको छ, यसलाई चाहिँ भारतले कसरी लिन्छ ?

नेपाल र चीनको सैन्य सहकार्यका सम्बन्धमा भारतको एउटा लक्ष्मणरेखा छ । चीनले भने भारतसँग नेपालको जुन तहको सहकार्य छ, त्यही बराबरको सहकार्य आफूसँग पनि हुनुपर्ने माग गरिरहेको छ । नेपाल र चीनको बीचमा सन् २०१७ बाट संयुक्त सैन्य अभ्यास शुरु भएको छ तर त्यो एकदमै सानो स्केलमा छ ।

चीनसँग कुन स्तरको कूटनीतिक, राजनीतिक र सैन्य सम्बन्ध राख्ने भन्ने विषय नेपाललाई राम्रोसँग थाहा छ । अहिले भारत र चीनको बीचमा लद्धाखमा द्वन्द्व जारी छ जहाँ थुप्रै गोर्खाली पल्टन रहेका छन् । यो विषय नेपाल सरकार र नेपाली सेनालाई राम्रोसँग थाहा छ ।

नेपाल–चीन सैन्य सहयोगमा भारतले भनेको लक्ष्मणरेखा भनेको के हो ?

यस विषयमा भारतले खुला रुपमा केही पनि बोलेको छैन । पहिला पूर्व–पश्चिम राजमार्ग निर्माणको समयमा तराईमा चिनियाँ सेना आउने सम्भावना थियो, जुन विषय भारतले उठाएको थियो ।

नेपाली सेना र चीनको सेनाको बीचमा कस्तो खालको सैन्य अभ्यास भइरहेको छ र त्यो सम्बन्ध कहाँसम्म जान्छ भन्ने विषयलाई भारतले नजिकबाट निगरानीमा राख्ने गर्छ । एउटा लक्ष्मणरेखा छ तर यो विषय नेपाल सरकारलाई थाहा छ, यो कुनै गोप्य विषय होइन । नेपाली सेना र चिनियाँ सेनाको सम्बन्ध कहाँसम्म पुग्छ, त्यसलाई भारतले नजिकबाट हेर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment