Comments Add Comment

अमेरिकामा एक सातामा थपिने कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च

Photo Credit : REUTERS

१८ कात्तिक, काठमाडौं । अमेरिकामा गत साता अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का साप्ताहिक नयाँ संक्रमित थपिएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नोभेम्बर १ अघिको सात दिनमा अमेरिकामा कोरोनाका पाँच लाख ७५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । यो संख्या अघिल्लो साताको तुलनामा १८ प्रतिशतले बढी हो ।

त्यस्तै गत साता अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि करिब पाँच हजार आठसय पुगेको छ । यो संख्या पनि अघिल्लो साताको तुलनामा तीन प्रतिशत बढी हो । अहिलेसम्म अमेरिकामा कोरोनाबाट दुई लाख ३१ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । विशेषज्ञहरुका अनुसार कोरोना संक्रमण बढ्न थालेको चारदेखि ६ सातामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्छ ।

अमेरिकाका ५० मध्ये ३४ राज्यमा कम्तीमा निरन्तर दुई साता कोरोना संक्रमण बढेको देखिएको छ । गत साता अमेरिकामा ८५ लाख मानिसको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ६ दशमलव ८ प्रतिशतको पोजेटिभ नतिजा आएको छ । अघिल्लो साता यो दर ६ दशमलव ३ प्रतिशत थियो । विश्व स्वास्थ्य संगठनका अनुसार पाँच प्रतिशतभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिनु चिन्ताजनक विषय हो । यो अवस्थामा समुदायमा अझै पनि पहिचान हुन नसकेका संक्रमित हुन सक्ने डब्ल्यूएचओले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment