Comments Add Comment

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा

नायिका ऋचा शर्मा र उनको टिमले ‘चलचित्र टीभी एप’ सार्वजनिक गरेको केही महिना भयो । नेपाली चलचित्रहरु पैसा तिरेर हेर्न मिल्ने यो एप संचालनमा आएको केही महिना भैसक्दा पनि यसको चर्चा अपेक्षित छैन । कोरोना भाइरसका कारण लकडाउन भएपछि डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने शैलीको विकास विश्वभर नै भैरहेको छ । नेपालमा पनि दर्शकले हलसम्म जान नपाएपछि डिजिटल प्लेटफर्मबाट नै चलचित्र हेरिरहेका छन् । तर, के ‘चलचित्र एप’ले दर्शकको साथ पायो त, यो बिषयमा नायिका ऋचा शर्मासँग अनलाइनखबरका लागि ‘विजय आवाज’ले गरेको कुराकानी गरेका छन् ।

१. जुन सोचका साथ, ‘चलचित्र एप’ संचालनमा आएको थियो, के दर्शकको माया पनि सोही अनुसार पाउनुभयो त ?
हामीले ‘चलचित्र टीभी एप’ सार्वजनिक गरेपछि प्रमोशन खासै गरेका छैनौ । विश्व बजारमा नै यसको प्रमोशन हुनुपर्छ । तर, यो एपलाई रजिष्टर गर्नेहरु ३० हजार पुग्नुभएको छ । यो आफैमा सुखद कुरा हो । तर, रजिष्टर मात्र भएर नहुने रहेछ । दर्शकले यसलाई सब्सक्राइव पनि गर्नुपर्छ । तर, रजिष्टरको एक चौथाई पनि सब्सक्राइब भएको छैन । कोभिडका कारण विश्व बजार नै बन्द भएकाले हामीले व्यापाक रुपमा विश्व बजारमा प्रचार गर्न पाएनौ ।

पहुँच त हामीले सोचे अनुसार भयो तर पैसा तिरेर हेर्ने दर्शकको संख्या नेपालबाट नै हामीले बढी पाएका छौ । नेपालमै हिट भएका चलचित्रहरु यहाँबाट नै बढी हेर्नुभएको छ । नेपालमै हल्ला बढी भएर पनि होला । डलरमा तिर्ने भन्दा नेपाली रुपैयाँ तिर्ने दर्शक नै बढी हुनुहुन्छ । हामीले शेयरिङमा काम गर्दा पनि आमा सरस्वती मुभिजलाई पहिलो महिनामा २ लाख रुपैयाँ दिन सकेका छौ । ओटीटी आजको भोली नै विस्तार हुने कुरा पनि होइन । ओटीटीमा केन्टेन्ट धेरै नराखेसम्म र आफ्नै कन्टेन्ट नआएसम्म सब्सक्राइब बढाउन सकिदैन । हरेक पटक पैसा तिरेर दर्शकले चलचित्र हेर्न झन्झट मान्नु हुँदो रहेछ ।

२. धेरै भन्दा धेरै कन्टेन्ट चाहिन्छ भन्ने तपाइले वुझ्नुभयो हो ?
अहिले हामीसँग संचालन भैरहेका एपहरुमा पनि कन्टेन्टकै दुविधा धेरै छ । सबैसँग बिषयवस्तुकै अभाव छ । हामीले हालेका चलचित्रहरु रिलिज भैसकेका छन् । तर, अमेरिकाबाट भने निकै राम्रो प्रतिक्रिया पायौं, किनकी त्यहाँ ‘छ माया छपक्कै’ रिलिज भएको थिएन ।

३. अबको योजना के छ त ?
हामीले ओरिजिनल कन्टेन्ट नबनाएसम्म अरु केही च्यानलसँग सहकार्यको तयारीमा छौ । हलमा रिलिज भैसकेका तर युटुबमा रिलिज भैनसकेका चलचित्रहरुलाई एपमा हालौं भनेर हामीले आग्रह गरेका छौ । युटुबलाई नै कुर्नुभन्दा पनि एपमा चलचित्र हाल्दा केही रकम भएपनि जम्मा गर्न सकिन्छ भन्ने त देखियो नी । अहिलेलाई सहकार्यमा काम गर्ने र ६ महिना भित्रमा आफ्नै ओरिजिनल कन्टेन्ट बनाउने योजनामा हामी छौं ।

आफ्नै कन्टेन्ट नभएसम्म त दर्शकलाई आकर्षित गर्न नै सकिदैन । अरु कतैबाट पनि प्राप्त गर्न नसकेको कन्टेन्ट नदिएसम्म दर्शक आकर्षित हुँदैनन् भन्ने हामीले वुझेका छौ ।

४. हाम्रा मेकरले एप प्रविधीलाई आत्मसाथ गर्न नसकेका हुन् ?
आत्मसाथ नै नगरेको भन्दा पनि युटुब भन्दा एप केही झन्झटिलो छ । हामीमा युटुबमा चलचित्र हेर्ने दर्शकको संख्या ठूलो छ ।

यहाँ चलचित्र बनाउँदा बनाउँदा पैसा सकिएपछि डिजिटल राइट्स वेच्ने प्रचलन पनि छ । सजिलो माध्यम भएकाले पनि मेकरहरु बढी युटुबमै आकर्षित छन् । त्यो भन्दा ओटीटी केही फरक छ । यसका लागि केही समय त लाग्छ नै । ‘छ माया छपक्कै र छक्का पन्जा ३’ ३ दिनमा ८ पटक युटुबमा अपलोड भयो र हामीले निकाल्यौ पनि । मेकरहरुलाई पनि के भयो भन्दा, जसरी पनि युटुबमा आउने नै रहेछ, बरु युटुबै रिलिज गरौ न त भन्ने सोच विकास भयो ।

मलाई के लाग्छ भने, हल तत्काल खुलेपनि अझै एक बर्ष हल मान्छे ढुक्कले हलसम्म जान सक्दैनन् । यसैले मनोरञ्जन त मानिसलाई चाहिन्छ नै । हामीले नेटफ्लिक्स जस्ता प्लेटफर्मलाई पैसा तिरेरै सब्सक्राइब गरिरहेका छौ । तर, आफ्नै देशका एपहरुलाई अझै आत्मसात गर्न सकिरहेका छैनौ ।

तर, म के भन्न सक्छु भने दर्शकलाई युटुब जसरी नै सहज तरिकाले हेर्न मिल्ने तरिकाले एपलाई अगाडि बढाउने हो भने दर्शक यो माध्यममा पनि उल्लेख्य हुनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment