Comments Add Comment

यमुनामाईमा अनिल झालाई निषेध गर्ने अध्यक्षको चेतावनी

२१ कात्तिक, रौतहट । यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आफ्नो गाउँपालिकामा रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अनिलकुमार झालाई कार्यक्रम गर्न नदिने चेतावनी दिएका छन् ।

अध्यक्ष मुखियाले शुक्रबार पत्रकार सम्मेलन गरी पूर्वमन्त्रीसमेत रहेका सांसद झाले जनप्रतिनिधि र महिलामाथि अभद्र टिप्पणी गरेकोले गाउँपालिकाभित्र कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिएका हुन् ।

झाले यही कात्तिक ११ गते गाउँपालिकाको वडानम्बर २ मा जनता समाजवादी पार्टीले आयोजना गरेको दशैं, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि र महिलाबारे अभद्र टिप्पणी गरेको अध्यक्ष मुखियाको आरोप छ ।

सासंद झाले आफूसँग माफी नमागेसम्म गाँउपालिकामा कुनै कार्यक्रम गर्न नदिने गाँउपालिका अध्यक्ष मुखियाले बताए । ‘सांसद जस्तो पदमा भएको मान्छेले मलाई नै सार्वजनिक मञ्चबाट गाली दिएका हुन,’ उनले भने ‘अब उपरान्त यो पालिकामा कुनै कार्यक्रम गरेर देखाउन म उनलाई चुनौती दिन्छु ।’

झाले सरकारले पठाएको रकम निर्माणको काममा स्थानीय तहका जनप्रतिनिधिले खर्च गरेको बताउँदै त्यो पैसा मेयरको बाउको सम्पति नहरको र पुरुषले विदेशमा कमाएर घर पठाएको पैसा श्रीमतीले फिल्म हेर्दाहेर्दै सकाएर अर्कसित पोइल जाने गरेको अभिव्यक्ति दिएको मुखियाको भनाइ छ ।

झाले भने केही सञ्चारमाध्यमले आफूले बोलेको कुरालाई बंग्याएर अनर्गल प्रचार गरेको र आफूले कसैको मानमर्दन नगरेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment