Comments Add Comment

लुम्बिनीको पर्साचोकमा ३ करोडको प्रवेशद्वार बन्दै

२४ कात्तिक,बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर पुग्ने भैरहवा-तौलिहवा सडकखण्डको पर्सा चौराहामा करिब तीन करोड लागतमा आकर्षक प्रवेशद्वार बन्ने भएको छ ।

लुम्बिनी गुरुयोजना अन्तर्गतको पर्सा-लोहखडिया सडकखण्डको प्रस्थान विन्दुमा पर्यटकलाई स्वागत गर्दै शान्ति र परिवर्तनको आभाष हुनेगरी प्रवेशद्वार बनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रवेशद्वार बन्ने पर्सा चौराहादेखि दक्षिणतर्फ लोहखडियासम्म ८ सय मिटर लम्बाईको चार लेन सडक पनि बन्ने छ । सो सडकको दायाँ बायाँ दुवैतर्फ हरियालीसहितको फुटपाथ र सोलार बत्तीसहित सौन्दर्यीकरण गरिने छ । उक्त सडक ५ करोड ३५ लाख रुपैयाँको लागतमा बन्ने छ ।

१८ महिनाभित्र सडक निर्माण सम्पन्न गरेर प्रवेशद्वार बनाउन सुरु गरिने लुम्बिनी विकास कोषको प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । प्रवेशद्वार निर्माणको सोमबार शिलान्यास गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले प्रवेशद्वारको शिलान्यास गरेका हुन् ।

सौन्दर्यीकरणको काम भने गत भदौबाटै सुरु भइसकेको थियो । सन् १९८५ देखि सुरु भएको गुरुयोजना अबको ३ वर्षमासकिने कोषले जनाएको छ ।

सडक खण्डमा दुवैतर्फ स्थानीय र रैथाने जातका पेण्डुलम, अशोक, बोटल पार्म, बेगनबेलीलगायत ४ हजार ५ सय ५ वटा विरुवा रोपिने छ ।

जापानीज वास्तुविद् केन्जो टांगेले बनाएको गुरुयोजना अनुसारका पुर्वाधारहरु निर्माण गर्न अझै करिब ६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

पर्साचोकमा आकर्षक प्रवेशद्वार र सौन्दर्यीकरण भएपछि लुम्बिनीको गरिमा बढ्ने सो षेत्रका प्रदेश सांसद फखरुद्दिन खानले बताए ।

‘अहिलेसम्म लुम्बिनी र मायादेवी मन्दिर जाने मुख्य चोकमा फोहोरको डुंगुर थियो, जसले पर्यटकलाई पहिलो गासमै ढुंगा जस्तो नकारत्मकअसर गरेको थियोे,’ सांसद खानले भने, ‘अब लुम्बिनीको सुन्दरता बढ्नुका साथै वृक्षारोपणले वातावरण संरक्षण पनि हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment