Comments Add Comment

आफ्नो कोरोना खोप ९२ प्रतिशत प्रभावकारी रहेको रुसको दाबी

Photo Credit : reuters

२६ कात्तिक, काठमाडौं । रुसले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी रहेको बताएको छ । रुसले आन्तरिक परीक्षणको क्रममा यो खोपले ९२ प्रतिशतसम्म मानिसहरुलाई बचाउन सक्ने पाइएको दाबी गरेको छ । बुधबार रुसको सभेरियन वेल्थ फण्डले स्पुतनिक खोपबारे यस्तो जानकारी दिएको हो । सबैभन्दा पहिला र प्रभावकारी तथा सुरक्षित खोप कसले निर्माण गर्ने भन्ने प्रतिस्पर्धा भइरहेको समयमा रुसको तर्फबाट यस्तो दाबी आएको हो ।

कोरोनाविरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा सार्वजनिक गर्ने रुस दोस्रो मुलुक हो । रुसले अहिले सार्वजनिक गरेको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणबाट पाइएको रसियन डाइरेक्ट इन्भेस्टभेन्ट फण्ड (आरडीआईएफ)ले बताएको छ । आरडीआईएफले यो खोप विकास र विश्वभर बजारीकरणको काममा सहयोग गर्दै आएको छ ।

आरडीआईएफले परीक्षणको नतिजाबाट स्पुतनिक भी खोप निकै प्रभावकारी देखिएको बताएको छ । यसअघि अमेरिकी कम्पनी फाइजर र बायोएनटक कम्पनीले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी रहेको पाइएको दाबी गरेका थिए । त्यसको केही दिनमा नै रुसले आफ्नो खोप थप प्रभावकारी रहेको बताएको हो ।

आईडीआईएफले खोपको परीक्षण ६ महिनासम्म जारी रहने र यो अध्ययनबाट पाइएको तथ्यांक विश्वका प्रमुख मेडिकल जर्नलमा प्रकाशित गरिने बताएको छ । यसअघि गत अगष्टमा नै रुसले स्पुतनिक भीलाई विश्वको पहिलो कोरोना खोपको रुपमा स्वीकृति दिएको थियो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment