Comments Add Comment

महामारीमा पनि सिँचाइ आयोजनामा सन्तोषजक काम भएको दावी

२६ कात्तिक, काठमाडौं । कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति भएको दावी गरिएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले २०७७/०७८ को पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका ६सहित अरु दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष निकालेको हो ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले सिँचाइका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलश्रोत तथा सिंचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखहरुसँग लगातार तीन दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए ।

त्यस क्रममा जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारी, विभागका महानिर्देशक मधुकरराज राजभण्डारी र आयोजना प्रमुखहरुले गौरवका सबै आयोजनाको अवस्थाबारे बि्रफिङ गरेका थिए । भेरी-बबई र सुनकोसी-मरिन डाभइर्सन, सिक्टा, रानी जमारा कुलरिया, बबई र महाकाली सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजना हुन् ।

यस्तै उपत्यकाको भूमिगत पानीको श्रोत रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाण्डुको शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्र गतिमा अघि बढेको जानकारी दिइएक्ो छ ।

यस्तै तत्कालीन मध्य, पश्चिम र सूदुरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागू गर्नेबारे समेत बैठकमा छलफल भएको थियो । बैठकले विश्वबैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको मोडालिटी टुंगो लगाउने निर्णय गरेको छ ।

सुनकोसी-मरिन डाइभर्सनबाट १ लाख २२ हजार हेक्टर, एउटै पकड क्षेत्र रहेको भेरी-बबई डाइभर्सन र बबई सिंचाइ आयोजनाबाट ५१ हजार हेक्टर, सक्टा सिंचाइ आयोजनाबाट ४२ हजार ७ सय हेक्टर, महाकाली सिंचाइ आयोजनाबाट ३५ हजार हेक्टर र रानी जमरा कुलरियाबाट २० हजार ३ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्नेछ ।

यस्तै भेरी-बबई डाइभर्सनबाट ४७ मेगावाट, सुनकोसी-मरिन डाइभर्सनबाट करिब ३० मेगावाट तथा रानी जमरा कुलरियाबाट ४.७ मेगावाट विद्युत उत्पादन हुनेछ ।

सिंचाइ र विद्युत उत्पादनसँगै हुने भएकाले ती आयोजनालाई बहुउद्देश्यीय भनिएको हो । ढाप ड्याम निर्माणको काममा हालसम्म कूल ८० प्रतिशत, सिक्टामा ६० प्रतिशत, भेरी-बबईमा ४० प्रतिशत र बबइमा ४७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

गत वर्षबाट सुरु भएको सुनकोसी मरिन आयोजनाअन्तर्गत रामेछाप र सिन्धुली खण्डमा जग्गा अधिग्रहणको काम सकिएको छ । कतिपय स्थानमा मुअब्जा वितरणसमेत भएको छ ।

यस्तै चालु आर्थिक वर्ष २०७७/०७८ मा मात्र राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट भएको महाकारी सिंचाइ आयोजनाको कूलमध्ये १० प्रतिशत काम सम्पन्न भएको छ ।

बैठकमा मन्त्री पुनले आयोजना निर्माणको काममा कुनै समस्या आए तत्काल सम्बोधन गर्न र समस्या समाधान गर्न असमर्थ भए आफूलाई जानकारी गराउन निर्देशन दिए ।

‘समस्या आए पहिला आफ्नै तहबाट समाधान खोज्नुस्, सम्भव भएन भने मलाई भन्नुस्, जस्तोसुकै समस्या भए पनि राजनीतिक तहबाट तत्काल समाधान गरिन्छ ‘ उनले भने ।

तर, समस्याको बहानामा विकासका काम रोक्ने वा ढिला सुस्ती गर्ने छुट भने कसैलाई नभएको उनको भनाइ थियो । मन्त्री पुनले बजेट र जनशक्तिको अभाव भए तत्काल समस्या समाधान गरिने पनि स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment