Comments Add Comment

बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण

२७ कात्तिक, काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण भएको छ । पछिल्लो पटक ढाकामा बुधबार गरिएको पीसीआर परीक्षणमा एक फुटबलरलाई कोरोना पोजेटिभ देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।

बाँकी खेलाडीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । एन्फा स्रोतका अनुसार कोरोना पोजेटिभ देखिएका खेलाडी छुट्टै बसेका छन् र उनलाई लक्षण भने देखिएको छैन ।

नेपालले बंगलादेशसंग यही नोभेम्बर १३ र १७ मा मैत्रीपूर्ण खेल खेल्दैछ । कोरोना मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी बंगलादेश गएका छन् । अब कोरोना पोजेटिभ देखिएको खेलाडीले भने मैत्रीपूर्ण खेल गुमाउनेछन् । पहिलो मैत्रीपूर्ण खेलको एक दिनअघि मात्रै उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि ढाका पुग्नेबित्तिकै पहिलो पटक गरिएको परीक्षणमा २५ खेलाडीसहित ११ अफिसियलको नेगेटिभ रिपोर्ट आएको थियो ।

यसपटक नेपाली टिममा ८ नयाँ खेलाडी छन् । नेपालमा प्रशिक्षणका क्रममा ७ खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरु बंगलादेश जान पाएनन् । यस्तै रोहित चन्द प्रशिक्षणमा घाइते भएकोले बंगलादेश गएनन् ।

केही सिनियर खेलाडीहरु टिममा नहुँदा यस पटक नेपाली टिमको कम्बिनेसन कस्तो हुन्छ भन्ने चासो रहेको छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीचको पहिलो खेल शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment