Comments Add Comment
कुलमानको महत्वकांक्षी परियोजना :

४ सय केभीको ढल्केबर सबस्टेसन र अन्तरदेशीय प्रसारणलाइन चार्ज

२७ कात्तिक, काठमाडौं । धनुषाको ढल्केबरमा बनेको ४०० केभी ढल्केबर सबस्टेसन फूल लोडमा चार्ज भएको छ । योसँगै ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन पनि ४ सय केभीमा सञ्चालन हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले यसलाई महत्वकांक्षी परियोजनाका रुपमा अघि बढाएका थिए ।

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि यो सबस्टेसन र प्रसारणलाइन महत्वपूर्ण मानिएको छ । जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम सकेर प्रसारणलाइन पनि पूर्ण लोडमा चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

मुलुकभित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि अब ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ । योसँगै नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात-निर्यातका लागि पूर्वाधार तयार भएको छ ।

साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

सबस्टेसनमा रहने ट्रान्सर्फमहरको क्षमता ९४५ केभी छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।

वर्षायाममा बढी भएको खण्डमा ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच ठूलो परिमाणमा विद्युत ब्यापार गर्न बाटो खुलेको छ । ढल्केबर-मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइन अहिलेसम्म २२० केभीमा सञ्चालनमा थियो ।

माथिल्लो तामकोसीबाट पुसभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ति हुँदै ढल्केबर ल्याइने छ । यसका लागि आयोजनाले गोंगर-खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । खिम्ती-ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।

सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको ट्रान्सर्फमर छन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई सहजै प्रसारण गर्न सक्दछन् ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब चार अर्ब रुपैयाँ लगानीमा बनेको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ग्याँस इन्सुलेटेड सबस्टेसन -जिआईएस) प्रविधियुक्त यो सबस्टेसन स्वचालित भएकोले काठमाडौको स्यूचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै  सञ्चालन र अनुगमन गर्न सकिन्छ । यसले माग र आपूर्तिको सन्तुलन कायम गर्न वैज्ञानिक प्रणाली निर्माण भएको छ ।

करिब १९ विघा जमिनमा फैलिएको यो सबस्टेसनमा संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेश्रो र प्राधिकरणले खोटाङमा निर्माण गर्न लागेको ६३५ मेगावाट दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइन पनि आएर जोडिने छ ।

४००/२२० केभी सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी एबीबी लिमिटेडबीच १० फागुन २०७४मा ठेक्का सम्झौता भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो । नेपालको वाइबा इन्फ्राटेकले पनि आयोजनामा एबीबीसँग सहकार्य गरेको थियो ।

प्राधिकरणले २२०/१३२ केभीको सबस्टेसन बनाउन सेन्ट्रल चाइनापावर गि्रड (सिसिपिजी)सँग १२ जुन २०१४मा  हेटौडा, ढल्केबर र इनरुवामा सबस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो । तर, सन्तोषजक रुपमा काम नभएपछि सीसीपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोड्न प्राधिकरण बाध्य भएको  थियो । त्यसपछि ढल्केबर सबस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनबरी २०१८मा ठेक्का सम्झौता गरेको थियो । ततकालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै ४ सय केभीमा विस्तारको योजना बनाएर काम सुरु गरेका थिए ।

विश्व बैकको नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२ केभीको सबस्टेसन निर्माण गरिएको थियो भने ४००/२२० केभी नेपाल सरकारकै स्रोतबाट निर्माण गरिएको हो ।

योजना अनुसर काम सकिएकोमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।

ढल्केवार ४०० केभि सब्स्टेसन निर्माण सम्पन्न भई मुजफरपुर ढफ्केबार लाईन ४०० के भि मा सफल्तापुर्वक चार्ज भएकोमा अायाेजना…

Posted by Kulman Ghising on Wednesday, 11 November 2020

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment