Comments Add Comment

यात्रुको पीसीआर रिपोर्टको गडबडीले मारमा नेपाल एयरलाइन्स

यात्रुलाई पनि सास्ती

२८ कात्तिक, काठमाडौं । लामो प्रतिवन्धपछि खुलेको नियमित उडानका दौरान नेपाल एयरलाइन्सका विमान फुल अकुपेन्सीमा उडिरहेको गन्तब्य हो हङकङ । कम्पनीका प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार चाडबाडको मुखमा हङकङ-काठमाडौं उडान भरिभराउ हुन्छ ।

यस पटक पनि टिकट बुकिङको ट्रेण्ड यस्तै थियो । तर, हङकङको सरकारी नियामक निकायले दशैंको ठीक अगाडि, दशैंपछि र तिहारको ठिक अगाडि गरी तीनपटक नेपाल एयरलाइन्सलाई उडान प्रतिबन्ध लगायो । बिहीबारबाट लागू भएको पछिल्लो प्रतिबन्ध २५ नोभेम्बरसम्म कायम रहनेछ ।

कारण हो-उक्त एयरलाइन्सको विमानबाट हङकङ पुगेका यात्रुमा कोरोना देखिनु । त्यसो त नेपालबाट विदेश जाने यात्रुले कोरोना परीक्षणमा नेगेटिभ आएको रिर्पोट बोक्नु पर्छ । नेपाल आउने यात्रुको हकमा पनि यही प्रावधान छ । तर, नेपालबाट नेगेटिभ रिर्पोट बोकेर हङकङ उडिरहेकै यात्रुमा कोरोना पुष्टि हुँदा एयरलाइन्सले पटक-पटक प्रतिवन्ध झेल्नु परेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार अहिले हङकङले नेगेटिभ रिर्पोट बोकेका यात्रुको पनि पुनः परीक्षण गरिरहेको छ । यूएईले यसैगर्दा दुबईमा नेपालबाट गएका यात्रुमा कोरोना पुष्टि भएको छ । नेपालबाट जापानको नारिता पुगेका यात्रुमा समेत कोरोना पोजिटिभ देखिएको छ । नेपाल एयरलाइन्सले सबैतिरबाट प्रतिवन्धको चेतावनी पाइरहेको छ ।

नेगेटिभ पीसीआर रिपोर्ट बोकेका यात्रुमा संक्रमण देखिँदा चीनले यूरोपका धेरै उडान रोकेको छ । सिधा उडानमात्र होइन, ट्रान्जिट उडानमा समेत चीनले कडाइ गरेको छ ।

निगमको नयाँ कदम

त्यसैकारण अब नेपालबाट हङकङ जाने यात्रुले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नपर्ने भएको छ ।

प्रतिवन्धका कारण हङकङ उडानबाट करोडौं घाटा भएको भन्दै नेपाल वायुसेवा निगम संचालक समितिले अब सरकारी ल्यावको आरटी पीसीआर रिर्पोटलाई मात्र मान्यता दिने निर्णय गरेको छ ।

समितिस्रोतका अनुसार यो शर्त हङकङका लागि मात्र लागू हुनेछ । अन्य गन्तब्यमा भने निजी ल्याबको रिर्पोट समेत मान्य हुनेछ ।

नेपालमा नेगेटिभ आएपनि विदेश पुग्नासाथ संक्रमण पुष्टि हुने समस्या समाधान गर्न नेपाल एयरलाइन्सले कुन ल्याबबाट गरिएको परीक्षण बढी असफल भएको छ भनेर पहिचान गर्न तथ्यांक संकलन गरेको थियो ।बढी गुनासो आएका ल्यावको विवरण मन्त्रालयलाई बुझाउने तयारी पनि निगमले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मान्यता दिएका आधिकारिक ल्यावबाट आएको रिर्पोट नै फेल हुन थालेपछि एयरलाइन्स समस्यामा परेको छ ।

तर, अब सरकारी ल्याबबाट आएको रिपोर्ट मात्रै मान्यता दिँदा पनि समस्या हट्छ भन्नेमा निगम आश्वास्त छैन । तर, निजी ल्याबका रिपोर्टमा बढी समस्या देखिएकाले निगमले त्यसविरूद्ध नयाँ कदम चालेको हो ।

पीसीआर रिर्पोटलाई कतिसम्म मान्यता दिने भन्ने कुरा सम्बन्धित मुलुकको नीतिमा भर पर्छ । हङकङले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्ड अनुसार अधिकतम ७२ घण्टासम्म रिर्पोटलाई मान्यता दिन्छ ।

स्वाबव दिएर आएपछि पनि यात्रुमा कोरोना संक्रमण हुने सम्भावना रहन्छ । स्वाव दिएपछि गरेको भेटघाट वा गाडीमा यात्रा गर्दा पनि कोरोना संक्रमण हुन सक्छ ।

अहिले त काठमाडौंमा समुदायमा कोरोना फैलिएको छ । जुनसुकै बेला, जहाँबाट पनि संक्रमित हुने जोखिम छ । यो कारण पनि नेगेटिभ रिर्पोट बोकेर उडेका यात्रुमा पनि संक्रमण देखिएको हुनसक्ने नेपाल एयरलाइन्सका अधिकारीहरु बताउँछन् ।

समस्या हट्ला ?

हङकङले आरटी-पीसीआरलाई नै मान्यता दिएकाले हङकङ उडानमा यात्रुलाई नेपालले थप कडाइ गर्न सक्दैन । किनकी यात्रुलाई आगमनमा कुन हदसम्मको कडाई गर्ने भन्ने विषय प्रवेश अनुमति दिने मुलुकको हुन्छ ।

कतिपय मुलुकले यात्रुलाई प्रवेशका दौरान विमानस्थलमै पीसीआर परीक्षणको छरितो प्रविधि अपनाएर पुनः परिक्षण गर्नेदेखि एन्टीबडी परीक्षणको रिर्पोटसम्म माग्ने गरेका छन् । प्रस्थानमा भने सम्बन्धित मुलुकको नीति अनुसार एयरलाइन्स र नियामक निकायले यात्रुलाई छुट दिएका हुन्छन् ।

यस अवस्थामा आफ्ना ल्यावको विश्वसनियता बढाउने, यात्रुको व्यवहारमा सुधार ल्याउने र समुदायमा रहेको कोरोना भाइरसको संक्रमण छिटो अन्त्य गर्नु नै उत्तम विकल्प हुने नेपाल एयरलाइन्सका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment