Comments Add Comment

आधुनिक समाजवादी विकासका लागि चीनले बनायो १५ वर्षे कार्यदिशा

समृद्ध समाज निर्माणका लागि ‘विजय नजिकै आइसकेको’ निष्कर्ष

२ मंसिर, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय समितिको हालै सम्पन्न पाँचौ पूर्ण विस्तारित बैठक (प्लेनम) ले आगामी १५ वर्षका लागि कार्यदिशा तय गरेको छ ।

सन् २०३५ सम्ममा जनवादी गणतन्त्र चीनलाई नवप्रवर्तनमा आधारित आधुनिक समाजमा विकास गर्न उक्त बैठकले महत्वपूर्ण खाका निर्धारण गरेको छ ।

जसअनुसार चीन आगामी १५ वर्षसम्म नवप्रवर्तन, वास्तविक अर्थतन्त्र, दरिलो आन्तरिक बजार, ग्रामिण पुनरुत्थान, सूचना प्रविधि विकास, नवीनतम औद्योगीकरण, आधुनिक कृषि, व्यवस्थित सहरीकरण र हरित विकासमा केन्द्रित रहने विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

चीनले अब वातावरण मैत्री विकासलाई थप मजबुत पार्ने र कार्बन उत्सर्जनमा पनि अझ कमी ल्याउने प्रण गर्दै देशको साँस्कृतिक सफ्टपावर अझ व्यापक बनाउने अवधारणा सारेको छ । सो बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको मूल नेतृत्वले १४औं पञ्चवर्षीय योजनाका लागि तय गरेको ‘राष्ट्रिय आर्थिक र सामाजिक विकास’ तथा चीनको ‘दीर्घकालीन योजना’ पनि पारित गरेको छ ।

सङ्ग ताओ, अन्तर्राष्ट्रिय विभाग प्रमुख

सबै दृष्टिकोणबाट मध्यमस्तरको समृद्ध समाज निर्माणका लागि ‘विजय नजिकै आइसकेको’ निष्कर्ष बैठकले निकालेको छ । बैठकमा सहभागी नेताहरुले पनि चीनलाई अब आधुनिक समाजवादी विकासमा अगाडि बढाउने प्रण लिएको भन्दै समाचार एजेन्सी सिन्ह्वाले एक टिप्पणी लेखेको छ ।

पूर्ण बैठकमा विगत पाँच वर्षमा हासिल भएका उपलब्धिहरुबारे पनि चर्चा गरिएको थियो । स्मरण रहोस्, सन् २०२० मा चीनको कुल गाह्रस्थ उत्पादन १ सय ट्रिलियन युआन पुगेको छ भने ५ करोड ५७ लाख भन्दा धेरै ग्रामीण जनतालाई गरिबीको रेखाबाट माथि ल्याइएको छ ।

त्यसैगरी चीन अहिले विश्वकै सबैभन्दा वृहत सामाजिक सुरक्षा प्रणाली विकास गर्ने देश बनेको छ । यससँगै चीनले अब समाजवादी बजार अर्थतन्त्रका लागि थप सुधार र खुलापनको नीति अवलम्वन गर्नेछ र आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा ध्यान दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment