Comments Add Comment

ट्रम्पले हटाए आफ्नो दाबी अस्वीकार गर्ने निर्वाचन अधिकारी

३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक शीर्ष निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी अस्वीकार गरेको कारण ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् ।

ट्रम्पले आफूले साइबर सेक्युरिटी एण्ड इन्फास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सिसा)का प्रमुख क्रिस क्रेब्सले मतदानको विषयमा निकै गलत टिप्पणी गरेको कारण उनलाई हटाइएको बताएका छन् ।

ट्रम्प नोभेम्बर ३ मा भएको निर्वाचनमा आफ्नो हार भएको अस्वीकार गर्दै आएका छन् । साथै उनले कुनै प्रमाणविना नै निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको आरोप लगाएका छन् । यद्यपि निर्वाचन अधिकारीले भने यो निर्वाचनलाई इतिहासको सबैभन्दा सुरक्षित निर्वाचन भएको बताउँदै आएका छन् ।

बीबीसीका अनुसार क्रिस क्रेब्सले आफ्नो एक वेबसाइटमार्फत् अमेरिकाको राष्ट्रपति निर्वाचनको विषयमा सार्वजनिक भएका गलत सूचनाहरुको खण्डन गरेका थिए ।
उक्त संस्थाका सहायक निर्देशक ब्रायन वेयरले पनि गत साता पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति कार्यालयले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

बर्खास्त गरिए पनि क्रिस क्रेब्स आफ्नो भनाइमा अझै अडिग देखिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यो निर्वाचनमा धाँधली नभएको बताएका छन् । उनी अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको वरिष्ठ अधिकारीहरुमध्येका एक थिए । जसले गत साता अमेरिकाको निर्वाचन सबैभन्दा सुरक्षित रहेको बताएका थिए ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment