Comments Add Comment

विद्युतीय प्रविधि नजोडेपछि हटाइयो माइतीघर-तीनकुने खण्डको विज्ञापन बोर्ड

९  मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलबाट नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका ५१ वटा विज्ञपन बोर्ड हटाएको छ । ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्धनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरले ती विज्ञापन बोर्ड हटाइदिएको हो ।

माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने जिम्मेवारी कृषि विकास बैंङ्कले लिएको थियो । मण्डला क्षेत्रको व्यवस्थापन बैङ्कलाई दिने बिषयमा महानगरले गएको मंसिर ८ गते नै निर्णय गरेको थियो ।

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमले गर्दै आएको थियो । गत चैत ४ मा माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने कृषि विकास बैंकसँग सम्झौता भएको थियो ।
बैङ्कले महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्व पूरा गर्ने बताएको थियो ।

५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो संस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने उल्लेख गरिएको थियो ।

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले विद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सम्झौता भएको थियो ।

तर, दुबै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौताअनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाले जानकारी दिएको छ ।

सम्झौता अनुसार व्यवस्थापन र मर्मत सम्हारमा ध्यान नदिने तर बिज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको महानपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि भन्दै महानगरपालिकाले माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment