Comments Add Comment

संघीय सरकारले प्रदेश २ सरकारसँग घनिष्ठ सम्बन्ध राखेको छ : मन्त्री भट्टराई

प्रदेश मन्त्रीले भने–थप मुद्दा हाल्न बाध्य नगरियोस्

२३ मंसीर, जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय सरकारले प्रदेश २ सरकारसँग घनिष्ठ सम्बन्ध राखेको बताएका छन् ।

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले संघीय सरकार र प्रदेश २ बीच घनिष्ठ सम्बन्ध रहेको बताए ।

संघीय सरकारले संघीयताको मर्म विपरित आफ्नो अधिकार नदिएको भन्दै पटक–पटक आवाज उठाउनेदेखि सर्वाेच्चमा संघीय सरकारविरुद्व ४ वटा रिट प्रदेश सरकारले दायर गरिसकेको अवस्थामा मन्त्री भट्टराईले यस्तो कुरा बताएका हुन् । ‘केन्द्र र प्रदेश २ सरकारबीच राम्रो सम्बन्ध छ,’ उनले भने, “हामीबीच कुनै समस्या छैन् ।”

संघीयता अभ्यासका क्रममा केही सानातिना विवाद हुनु सामान्य भएको भन्दै मन्त्री भट्टराईले संघीयताको अनुभवी नभएकाले यस्ता समस्या आएको बताए । ‘संघीयता आएको तीन वर्ष मात्रै भएको छ । यो अवधिमा सबै समस्याको हल हुन सक्दैन,’ उनले भने, “सिक्ने क्रममा केही गल्ती हुन्छ । यो गल्तीलाई आपसी समझदारीबाट हल गर्दै जानुपर्छ ।”

संघीय सरकारको नीति नै सबै प्रदेश र स्थानीय तहसँग प्रगाढ सम्बन्ध बनाउँदै बलियो समन्वयको आधार तयार पार्ने भएको उनले बताए ।

पुराना घट्ना पुनरावृत्ति हुने हो कि भन्ने खतरा छ

मन्त्री भट्टराईले २५० वर्ष शाहवंशीय शासणबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सम्पूर्ण पार्टीबीच समन्वय र सहकार्य अझै प्रगाढ बन्दै जानुपर्ने बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आइससकेको अवस्थामा पुनः पुराना कतिपय घटनाहरु हाम्रो मानसपटलमा आइरहेका छन् । पुनरावृत्ति हुने हो कि भन्ने खतरा छ,’ उनले भने, “त्यसो हुँदा नेपालकै पवित्र तीर्थस्थल, धार्मिक, सांस्कृतिकस्थलबाट हामी संकल्प गरौं यो व्यवस्था ल्याउन संघर्षको अग्रभागमा आएका कुनै पनि राजनीतिक दलभित्र बिग्रह नहोस् । दलहरुको विभाजन नहोस् ।”

राजनीतिक दलहरुको विभाजन फेरि पनि व्यवस्थाप्रति असन्तुष्टि उत्पन्न गर्ने कारण बनेको भन्दै उनले त्यसबाट शिक्षा लिँदै दलहरुको एकता अझै सुदृढ बनाउन र अनेक दलहरुको बीचमा पनि समन्वय र सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड् दिए ।

प्रदेश मन्त्रीले भने–थप मुद्दा हाल्न बाध्य नगरियोस्

कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले संघीयताको मर्म संघ र प्रदेशबीच विवाद गर्नु नभएको बताए । संघीय सरकारकै व्यवहारका कारण प्रदेश २ सरकार सर्वाेच्चमा मुद्दा हाल्न बाध्य भइरहेको उनले बताए । ‘हामी जहिल्यै पनि हातेमालो गरेर अघि बढ्न खोज्यौं,’ उनले भने, “तर संघीय सरकारले चाहेन ।”

तीनै तहको सरकार हातेमालो गरेर अगाडि नबढिए मुलुक समृद्ध हुन नसक्ने भएकाले यसतर्फ संघीय सरकारले सोंच्नुपर्ने उनले बताए ।

मन्त्री यादवले लामो समयसम्म खुल्ला सीमा बन्द गरिएकोप्रति आक्रोश व्यक्त गर्दै चाँडो सीमा खोल्न आग्रह गरे । ‘भातीय सीमा खोलाउन प्रदर्शन भइरहेको छ । उनले भने नखोलिए यसले ठूलो रुप लिन सक्छ ।”

भारतीय सहरमा उडान भर्न आग्रह

कार्यक्रमका सहभागीहरुले जनकपुर विमानस्थलबाट भारतीय सहरमा उडान सुरु गर्न मन्त्री भट्टराईसँग आग्रह गरे । उनीहरुले नेपालकै अन्तर प्रदेशीयका साथै भारतीय सहरमा पनि यहाँबाट उडान सुरु गराउनुपर्नेमा जोड दिए ।

संघीय सांसद राजेन्द्र महतो र जुली महासेठ, प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री यादव, जनकपुरधाम उप महानगरपालिकाका प्रमुख लालकिशोर साह लगायतकाले भारतका प्रमुख राज्यहरु बिहार, बंगाल र उत्तर प्रदेशमा यहाँबाट उडानको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । यसो गर्न सकिए मुलुकको आन्तरिक पर्यटन सुदृढ हुँदै आर्थिक क्षेत्र बलियो हुने उनीहरुको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment