Comments Add Comment

महामारीमा चम्कियो स्मार्टफोन ब्यापार

२६ मंसिर, काठमाडौं । गत साउनदेखि कात्तिकसम्म २१ लाख ९० हजार ८२५ वटा मोबाइल/फोन सेट आयात भयो । त्यसका लागि १४ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रकम विदेशियो । आयातकर्ताले भन्सार विन्दुमा २ अर्ब २४ करोड ६ लाख कर तिरे । यसरी हेर्दा ४ महिनामा करिब १७ अर्ब रुपैयाँको फोन नेपाली बजारमा आएको छ ।

गतवर्ष यही अवधिमा २० लाख ११२ वटा फोन सेट भित्रिएको थियो । त्यसका लागि ८ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको थियो भने १ अर्ब ३६ करोड कर उठेको थियो ।

भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्षको ४ महिनामा गतवर्षको यही अवधिको तुलनामा संख्याका हिसावले ९.५४ प्रतिशत बढी फोन भित्रिएको देखाएपनि आयात मूल्य र त्यसबाट उठेको राजस्व दुबै हिसाबले ६४ प्रतिशतले बढेको छ । किन यस्तो भयो त ?

नेपालमा सर्वाधिक बिक्री हुने सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस ग्रुपका प्रेसिडेन्ट तथा सीईओ दिकेश मल्होत्रा यो वर्ष स्मार्ट फोनको ब्यापार बढेकाले संख्यात्मक रुपमा आयात सामान्य बढेपनि मूल्य उच्च देखिएको बताउँछन् ।

दिकेस मल्होत्रा

‘यो वर्ष स्मार्टफोनको ब्यापार चम्कियो,’ उनी भन्छन्, ‘सामान्य बार फोन छोडेर धेरैले स्मार्टफोन रोजेकाले यस्तो अवस्था आएको हो ।’

तल्लो ‘रेन्ज’का फोन बोकिरहेका धेरै उपभोक्ता यो वर्ष स्मार्टफोनमा ‘अपग्रेड’ भएको मल्होत्राले बताए । त्यसैले आयात खर्चअनुसार आयात संख्या नबढेको उनको तर्क छ ।

चैतबाट सुरु भएको लकडाउन १ असारमा खुलेलगत्तै मोबाइल बजार उत्साहित भएको थियो । बजारमा सुरुमै फोन सेटको अभाव सिर्जना पनि भयो ।

व्यवसायीहरुका अनुसार मोबाइल किन्न पसल पुग्नेको संख्या गत वर्षहरुको यही समयको तुलनामा उच्च छ । दशैंतिहारपछि सुस्ताउने मोबाइल बजारमा यो वर्ष अहिलेसम्म उत्साह कायम रहेको न्युरोडका एक पसले रामशरण रिसाल बताउँछन् ।

‘दशैंतिहारमा मोबाइलको माग पिकमा थियो’, उनी भन्छन्, ‘अहिले पनि रु.१० हजारदेखि ३० हजार रेन्जका मोबाइल सेटको माग धान्न गाह्रो परिरहेको छ ।’

आईएमएस समूहका सीईओ मल्होत्रा पनि यो अवधमिा कम्पनीले रु.१०-२० हजार रेन्जका फोन धेरै बिक्री गरेको बताउँछन् । उनका अनुसार संयोगवस् सामसङले महामारी सुरु हुनअघि नै यो रेन्जमा फोन सार्वजनिक गरेको थियो । नेपाली बजारमा यो रेन्जका स्मार्ट फोन निकै रुचाइएको उनको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा वैधानिक च्यानलबाट कुल ४३ लाख ६५ हजार ९९० वटा सेट (भन्सार मूल्यांकन १८ अर्ब १७ करोड रुपैयाँ मूल्य) भित्रिएको थियो । यो वर्ष पहिलो चौमासिकमै करिब २२ लाख सेट भित्रिसकेको छ ।

महामारीबाट सिर्जित बजार

मोबाइल बिक्रेता संघका अध्यक्ष पुरु बस्नेतका अनुसार लकडाउनमा मोबाइल पसलहरु बन्द रहँदा आपूर्ति नभएको मागका कारण सुरुमा बजार उचलियो । कोभिड १९ महामारीले सिर्जना गरेको परिस्थिति पनि ब्यापार वृद्विको कारक बन्यो । लकडाउन र त्यसपछि सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाका कारण मोबाइलमा मानिसको निर्भरता बढ्न पुग्यो ।

भेटघाटका लागि बाहिर निस्कन असुरक्षित हुने भएपछि समय बिताउन पनि धेरैले स्मार्ट फोन किनेको र ‘वर्क र्फम होम’को अवधारणा आएसँगै यस्ता डिभाइसको माग बढेको बस्नेतको अनुभव छ ।

अनलाइन कक्षा र भर्चुअल मिटिङ बाक्लिँदा स्मार्ट फोनको मागमा भारी वृद्धि भयो । भएका सीमित र पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भयो ।

घरमै बस्नुपर्दा इन्टरनेटमा भिडियो हेर्न क्रम बढ्यो । बालबालिकाको विद्यालय नभएकाले गेम खेल्ने र अभिभावकले अनलाइन कारोबार गर्ने क्रम बढेसंगै स्मार्ट फोन दैनिक जीवनको आवश्यकता भएर ब्यापार वृद्वि भएको आईएमएसका सीईओ मल्होत्रा बताउँछन् ।

अहिले स्मार्ट फोनको मात्रै हैन, ट्याब र ल्यापटप लगायतका डिभाइसको व्यापार पनि बढेको छ ।

तस्करी र उपहार निरुत्साहित

महामारीपछि मोबाइल फोनको तस्करी पनि निरत्साहित भएको छ । भारतीय सीमाबाट आवातजावत बन्द भएकाले पारीबाट मोबाइल तस्करी गर्ने क्रम पातलिएको छ ।

आईएमएसका सीईओ मल्होत्राका अनुसार लकडाउनअघि नेपालमा अवैध बाटोबाट भित्रिएका २० प्रतिशतसम्म सामसुङका सेट ‘एक्टिभ’ हुन्थे । अहिले त्यो ५ प्रतिशतमा खुम्चिएको उनले बताए ।

अहिले विदेशबाट हवाई सेवा खुलेपनि उडान सीमित छ । अति आवश्यक नभई विदेश नजाने र विदेशबाट पनि नआउने अवस्था छ । यसले गर्दा विदेशबाट मोबाइल सेट उपहार आउन रोकिएको छ । सँगै, विमानमार्फत हुने फोन तस्करी पनि घटेको छ ।

यी सब कारणहरुले गर्दा स्मार्ट फोनको वैधानिक ब्यापार चम्किन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment