Comments Add Comment

व्यापार सम्झौताको लागि ईयूको सर्त स्वीकार्य नरहेको बेलायतको भनाइ

२८ मंसिर, काठमाडौं । बेलायतले युरोपेली संघ (ईयू)ले व्यापार सम्झौताको लागि राखेका बुँदाहरु स्वीकार्य नरहेको बताएको छ । बीबीसीका अनुसारबेलायतको सरकारी स्रोतले बेलायतलाई उक्त सर्तहरु स्वीकार्य नरहेको बताएको हो ।

बेलायत डिसेम्बर ३१ बाट ईयूबाट पूर्णरुपमा अलग हुनेछ । उक्त अवधिभित्र ईयूसँग व्यापार सम्झौता हुन नसके उनीहरुले द्विपक्षीय व्यापारका लागि विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को नियम पालना गर्नुपर्नेछ ।

अहिले बेलायत र ईयूबीच व्यापार सम्झौताबारे वार्ता चलिरहेको छ । यद्यपि उनीहरुबीच व्यापार सम्झौता हुने सम्भावना भने कम छ । अहिलेसम्म दुवै पक्षले आफूहरु कुनै पनि सम्झौतामा पुग्ने सम्भावना कम रहेको बताउँदै आएका छन् ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबले बेलायतले वार्ताको ढोका भने सधैँ खुला राख्ने बताएका छन् । यद्यपि त्यसका लागि धेरै अवरोधहरु रहेको उनको भनाइ छ ।

आयरल्याण्डका प्रधानमन्त्रीले व्यापार सम्झौता बिना नै बेलायत ईयूबाट बाहिरिनु राम्रो समाचार नरहेको बताए ।

अहिले ईयू र बेलायतबीच माछा मार्ने अधिकार र द्विपक्षीय व्यापारमा भन्सारको विषयमा वार्ता मिल्न सकेको छैन । ईयूले आफ्ना सदस्य राष्ट्रहरुले बेलायतको पानीमा माछा मार्न पाउनुपर्ने माग राखेको छ ।

तर, बेलायतले भने यसलाई अस्वीकार गर्दै आएको छ । बेलायतले ईयू अझै पनि बेलायत आफ्नो नियन्त्रणमा रहोस् भन्ने सोचमा रहेको आरोप लगाएको छ । ईयूले भने बेलायतको पानीमा ईयूका राष्ट्रले माछा मार्ने अनुमति नपाए बेलायतका माछा व्यवसायीले पनि ईयूमा व्यापार गर्दा कर बुझाउनुपर्ने बताउँदै आएको छ ।

त्यस्तै आगामी दिनमा दुईबीच उत्पन्न हुनसक्ने आर्थिक मुद्दा कसले हेर्ने हो भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment