Comments Add Comment

शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन किन्न काठमाडौं महानगरले सघाउने

३० मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

स्पेसिफिकेसन बमोजिम ७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अब खरिद गरिने मेसिनबाट उच्च गुणस्तीयर र परिस्कृत रिपोर्ट प्राप्त भई सर्वसुलभ सेवा दिन सकिने छ।

हस्ताक्षरपछि सम्वोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले संमृद्ध नेपाल खुशी नेपालीको नारालाई पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन महत्वपूर्ण रहेको भन्दै साझेदारीको हिसावले महानगरपालिकाले गरेको उल्लेख्य काम भएको बताए । ‘स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्छ भनेका छौँ । तर सरकारी अस्पताल सवल हुन सकेका छैनन्,’ उनले भने,’नीजिले अनुचित ढंगले सेवा दिएको गुनासो जनस्तरबाट आउने गरेको छ । त्यसैले नीतिगत, संरचना, योजान र कार्यक्रममा सुधार गरेर अघि बढ्नुको अर्को विकल्प छैन ।’

उनले स्वास्थ्य क्षेत्रमा आउने गरेका विसंगतिका जनगुनासोलाई सुधार गरेर कार्यान्वयन तहमा लैजानका लागि त्यस क्षेत्रको नेतृत्वले सेतुको काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले नामका लागि काम होइन कामका लागि काम गरेको बताए। उनले स्वास्थ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको क्षेत्रभित्र पर्ने भए पनि काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेको बताए। शाक्यले अहिलेसम्म महानगरपालिकाले मात्रै करिब ३५ हजारको स्वाब संकलन गरेको पनि जानकारी दिए।

शाक्यले सबै राष्ट्रियस्तरका अस्पताल भएकाले यहाँका वडाध्यक्ष र महानगरपालिकाले हाम्रो अस्पताल भन्न नपाउने अवस्था रहेको पनि स्मरण गराए। ‘यी अस्पतालबाट देशभरीका नगरिकले सेवा पाउनुपर्छ र सेवा दिइरहेका पनि छन्,’ शाक्यले भने, ‘यस्ता सबै कुरालाई ध्यानमा राखेर काठमाठौँ महानगरपालिकाले ती अस्पतालको सेवा विस्तारमा सहकार्य गर्दै आएको छ ।’

कार्यक्रममा शाक्यले महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएका स्वास्थ्य सामाग्री यसअघि पनि वीर अस्पताल, कान्तिवाल अस्पताल र थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई हस्तान्तरण गरिसकेका जानकारी गराए।

‘कोरोनाको परीक्षणका लागि ती अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘सहिद गंगाल अस्पताल, छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल, कान्तिबाल अस्पतालसँग पनि हामीले सेवा विस्तारका लागि विभिन्न सहकार्य गरेका छौँ । हामीले त्योसँगै जनस्तरबाट सञ्चालन गरिएका अस्पतालसँग पनि हामीले सहकार्य गर्दै आएका छौँ ।’

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा. दिव्या सिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभइ नहुने हतियार भएको भन्दै काठमाडौँ महानगरले गरेको सहयोग अतुलनीय भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment