Comments Add Comment

राजीनामा दिन अस्वीकार गरेका गुरुङ भन्छन् : भिन्न मत राख्नेलाई निषेध गर्न खोजियो

३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद झनै चर्किएर गएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको छ ।

मंसिर २८ को स्थायी कमिटी बैठकलगत्तै ओलीले राजीनामा मागेपछि प्रमुख सचेतक गुरुङले यसलाई पार्टीमा सर्वसत्तावादी प्रवृत्तिका रुपमा टिप्पणी गरेका छन् । ‘मैले पार्टीको संगठनात्मक विषयमा बोल्ने गरेको छैन । सधैं राजनीतिक तथा वैचारिक विषयमा बोलेको छु’ उनले भने ।

पार्टी कमिटीको निर्णयले मात्रै कसैको जिम्मेवारी हेरफेर हुनसक्ने गुरुङले अनलाइनखबरसँग बताए ।

नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले आफ्नो विरुद्धको गुट गतिविधिमा लागेको भन्दै गुरुङको राजीनामा मागेका छन् । तर कुनै व्यक्तिको चाहना र इच्छाका आधारमा लेनदेन गर्ने विषय नभएको प्रमुख सचेतक गुरुङ बताउँछन् ।

उनले भने, ‘पार्टी भनेको संस्था हो, त्यहाँ सामूहिक प्रणाली हुन्छ । पार्टी कमिटीको प्रणालीअनुसार, कसले कुन जिम्मेवारी लिने भन्ने कुरा विधि र पद्धति अनुसार हुने भन्ने तय हुन्छ । जोकोहीको जिम्मेवारीमा फेरबदल भइरहन्छ ।’

वैचारिक तथा राजनीतिक विषयमा भिन्न मत राखेकै आधारमा निषेध गर्ने प्रवृत्ति पार्टीमा देखिएको उनी बताउँछन् । ‘कमिटीको संगठनात्मक निर्णयअनुसार पार्टी चल्नुपर्छ, नेताहरुबीच आपसी समन्वयमा त्यो काम हुनुपर्छ’ गुरुङ भन्छन् । तर, एकाधिकारवादी चिन्तन त्याग्नुपर्ने उनको तर्क छ ।

अहिले पार्टीमा भइरहेको निषेधको प्रवृत्तिले विचार र लाइनको बारेमा समेत बोल्न नमिल्ने अवस्था आएको निष्कर्ष उनको छ । तर, पार्टीलाई लोकतान्त्रिक बनाउने, विधि र पद्धतिका आधारमा चलाउनेबारे बहस हुनुपर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment