Comments Add Comment

पोखरामा जसपाद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

ओलीले इतिहासकै कालो दिन रचेको आरोप

१ पुस, पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको हो ।

चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै कोण सभा गरेको थियो । कोण सभामा बोल्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले केपी ओलीको इशारामा चलेर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अध्यादेश जारी भएको बताए ।

‘बालुवाटारमा कोटबाट कलम निस्किँदा शितल निवासमा मसी पुगिसक्छ,’ केन्द्रीय सदस्य सुवेदीले भने, ‘भ्रष्टाचारमा लिप्त सरकारले संवैधानिक अधिकार खोसिरहेको छ ।’

कोभिड–१९ को संकटबाट देशलाई र जनतालाई बचाउन काम गर्दा भनेको सरकारले सत्ताका लागि अध्यादेश ल्याएर संवैधानिक अधिकार खासेको सुवेदीको भनाइ छ ।

जसपा प्रदेश अध्यक्ष मोति रिजालले ओली सरकारले अध्यादेश ल्याएर गणतन्त्रकै हरण गरेको बताए । यो दिनलाई आफूहरुले कालो दिनका रुपमा हेरको बताए । ओलीले ल्याएको अध्यादेश, भ्रष्टाचारको विरुद्धमा समाजवादीले आन्दोलन थालेको उनको भनाइ थियो ।

प्रदेश उपाध्यक्ष दीपक तामाङलेसंघीय लोकतान्त्रिक गणतन्त्र भएको देशमा ओलीले ल्याएको अध्यादेश इतिहासकै खराब दिनका रुपमा रहने बताए । ओलीको अध्यादेश लोकतन्त्र माथिकै बज्रपात भएको उनको भनाइ थियो ।

‘सडकमा आएर संघर्ष गर्नुपर्छ भन्ने सोचेका थिएनौं । यो सरकारले स्वाभाविक हिसाबले जनताको अधिकारको रक्षा गर्छ भन्ने थियो,’ तामाङले भने, ‘जनताको अधिकारै खोस्ने काम गर्‍यो । त्यसैले ओली सत्ताकोविरुद्धमा आन्दोलन गर्ने दिन आयो । यो कास्कीबाट सुरु गरेका छौं ।’

समाजवादीका विद्यार्थी संगठन नेता नेत्र चापागाईंले यो केपी ओली ल्याएको अध्यादेशविरुद्धमात्रै होइन, लुटतन्त्र र नेपाली जनताको लोकतन्त्रबीचको लडाइँ भएको बताए । ‘यो लडाइँमा लुटतन्त्रले हार्छ र लोकतन्त्रले जित्छ,’ चापागाईंले भने, ‘लुटतन्त्र हटाउन अब चोकचोकमा जनता जागेका छन् ।’

समाजवादी पार्टीले यो आन्दोलन देशभर हुने बताएको छ । ओली सरकार र सरकारले गरेको कामका विरुद्ध अब जनतालाई बुझाउने र देशभर आन्दोलनका कार्यक्रम सुरु हुने उसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment