Comments Add Comment

नेपाल लिटरेचर फेस्टिभल : सराङकोटबाट भर्चुअल सम्वाद

४ पुस, पोखरा । पोखराकै पर्यटकीय डाँडो सराङकोट । आँखा घुमाउँदा देखिने हिमशृंखला, पोखरा र फेवातालसँगै मनोरम दृश्य । पृष्ठभूमिमा माछापुच्छ्रे लगागत हिमशृंखला अघिल्तिर बनाइएको स्टेजमा २/४ जना वक्ता र थोरै संख्यामामात्र दर्शकबीच समसायिक विषयमाथिको विमर्श । यसपटकको नवौं नेपाल लिटरेचर फेस्टिभल यस्तै हुने भएको छ ।

कोभिड-१९ को जोखिमकाबीच पोखराको सराङकोटबाट यसपटक भर्चुअल साहित्यिक महोत्सव हुने भएको हो । पुस १४ र १५ गते साहित्यिक महोत्सवका वक्ता सराङकोट पुग्ने छन् र दर्शक हुने छैनन् ।

महोत्सवमा साहित्यिक, सांस्कृति, राजनीतिक लगायत विभिन्न समािमयिक विषयमाथि भर्चुअल १६ सत्र चल्ने आयोजक बुकवर्म फाउण्डेसनले जानकारी दिएको छ । महोत्सवमा ४० जनाभन्दा बढी वक्ता रहने छन् ।

फेवा किनारमा देशविदेशका लेखक, साहित्यकार, कलाकारलगायतको जमघटमा साहित्यिक महोत्सव हुँदै आएको थियो ।

मन परेका लेखक होस् वा सेलिब्रेटी, राजनीतिककर्मीदेखि अध्येतासम्मलाई एकसाथ भेट्न पाउने थलो बनेको साहित्य महोत्सव यसपटक भने युट्युबमार्फत हेर्न व्यवस्था मिलाइएको छ । ‘कोभिड कहरका कारण लामो समयसम्म नवौं संस्करण गर्ने/नगर्ने अन्योलमै थियौं । तर, महोत्सवको ऊर्जा कायम राख्न र नियमितताका लागि पनि भर्चुअल सत्रका साथ महोत्सव गर्ने भएका छौं,’ महोत्सवमा निर्देशक अजित बरालले भने, ‘भर्चुअल रुपमै भए पनि यो महोत्सव अघिल्ला संस्करणभन्दा भिन्न र रोचक छ ।’

यो साहित्य महोत्सवमा धेरै नयाँ अनुहारहरु देखा पर्ने निर्देशक बरालले बताए । ‘भौतिक रुपमा दर्शक एवं स्रोताको उपस्थितिमा फेस्टिभल गर्ने धोको थियो,’ उनले भने, ‘तर कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन ।’

महोत्सवमा साहित्य, वातावरण, पठन, यौनदेखि राजनीतिसम्म विचार, विमर्श हुने छ । १४ गते साहित्यको अर्थ शीर्षकमा डा. विश्व पौडेलको विद्वत प्रवचनबाट महोत्सव सुरु हुने छ । त्योभन्दा अघिल्लो साँझ गजल मेहफिल हुने छ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा शुभारम्भ साँझमा अमृत सुवेदीको सहजीकरणमा प्रदीप रोदनले गजलको मेहफिल जमाउने छन् ।

पौडेलको विद्वत प्रवचन, कोरोनाकालीन उद्योग वाणिज्य शीर्षकमा चन्द्र ढकालसँग कुवेर चालिसेको संवाद हुँदै अगाडि बढ्ने साहित्य महोत्सव प्रदेशबाट देखिने देश शीर्षकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार वसन्त बस्नेतले बहस गर्दै सकिने छ ।

महोत्सवमा युवाले देशलाई हेर्ने नजर, पढ्ने पढाउने हुटहुटी, अद्भूद व्यक्तित्व असाधारण लेखन संघीयताका अवसरहरु जस्ता विषयमा विमर्श र छलफल हुने छ ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड-१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए । भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ । सहआयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’

फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले महोत्सवसँग जोडिएसँगै पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएको बताइन् ।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment