Comments Add Comment

विपन्न तामाङ बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिका–३ स्थित दुर्गम बस्ति खार्साका एक सय २ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । आशिका फाउन्डेसनको पहलमा आर्थिक संकलन गरी मंगलबार उनीहरुलाई न्यानो कपडा तथा खेल सामग्री हस्तान्तरण गरिएको हो ।

लाभान्वित सबै बालबालिकाहरु विपन्न तामाङ परिवारका हुन् । आर्थिक दुरावस्थाका कारण कष्टप्रद जीवन बाँचिरहेका उनीहरुलाई जाडोमा लगाउने कपडा अभाव थियो । न्यानो कपडा पाएपछि बालबालिका दंग परेका थिए । बच्चाका बुवाआमाले फाउन्डेसनलाई धन्यवाद दिएका छन् ।

विपन्न वर्गका बालबालिकालाई लक्षित गर्दै फाउन्डेसनले गत साताबाट न्यानो कपडा वितरण अभियान सुरु गरेको हो । यसअघि गुल्मीको मदाने गाउँपालिकामा पुगी ४० जना बालबालिकालाई कपडा वितरण गरिएको थियो । अब चेपाङ बस्तिका करिब ३ सय बालबालिकालाई सहयोग गरिने फाउन्डेसनले जनाएको छ ।

आशिका फाउन्डेसनले यसअघि आफ्नै स्रोतमा विभिन्न सामाजिक कार्यहरु गर्दैै आएको थियो । न्यानो कपडा अभियानका लागि भने फाउन्डेसनले सहयोगको आह्वान गरिरहेको छ । हालसम्म देश तथा विदेशमा रहेका नेपालीहरुबाट करिब ४ लाख रुपैयाँ संकलन भएको फाउन्डेसनकी प्रमुख आशिका तामाङले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment