+
+

प्रचण्ड–माधव समूहलाई नागरिक अगुवाहरुको प्रश्नैप्रश्न

एउटै ड्याङका मुला हुन् नभन्नुस् : माधव नेपाल

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ पुष २३ गते २१:२३

२३ पुस, काठमाडौं । संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार नयाँ बानेश्वरमा नागरिक समाजका अगुवाहरुसँँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो । कार्यक्रमको मूल उद्देश्य थियो– प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबैलाई गोलबद्ध गर्ने र विघटित प्रतिनिधि सभा पुन:स्थापित गर्न दबाब सिर्जना गर्ने ।

मूल उद्देश्यमा आयोजक सफल नै भयो भन्न सकिन्छ किनकि कार्यक्रममा धारणा राख्ने सबैले ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता औंल्याए र संसद पुन:स्थापितमा जोड दिए ।

प्रचण्ड माधव समूहका शीर्षस्थ नेताहरू माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत थिए । छलफलमा नागरिक समाजका तर्फबाट कृष्ण पहाडी, नारायण वाग्ले, रमेश विष्ट, कपिल श्रेष्ठ, हरिहर दाहाल, दमननाथ ढुंगाना, दीपेन्द्रबहादुर क्षेत्री, लीलामणि पौडेल लगायतले धारणा राखे ।

उनीहरुले अगुवाहरुले प्रचण्ड–माधव समूहमाथि समेत कडा प्रश्न गरेका छन् । पूर्वसभामुख ढुंगानाले भने ओली तानाशाह बन्नुमा प्रचण्ड–माधव नेपालहरु पनि जिम्मेवार रहेको बताए ।

ब्यानरमा किन सूर्य चिह्न र हँसिया हथौडा ?

ब्यानरमा लेखिएको थियो– प्रतिनिधि सभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध नागरिक समाजसँग अन्तर्क्रिया । बायाँ सिरानमा हँसिया हथौडा र दायाँमा सूर्य चिह्न भएको ब्यानरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको थियो ।

मानवअधिकारवादी कपिल श्रेष्ठले भने, ‘म आफूआई असहज महसुस गरिरहेको छु । ब्यानरमा प्रयोग भएका रंग यस्तो नभइदिएको भए हुन्थ्यो । सूर्य चिह्न र हँसिया हथौडा किन राखेको ? सबैलाई सहज हुने ब्यानर प्रयोग गरिएको भए मैले सहजता महसुस गर्न सक्ने थिएँ ।’

पूर्वसभामुख दमननाथ ढुङ्गानाले धारणा राख्ने क्रममा पटक–पटक आफू पार्टीको मञ्चमा सहभागी नभएको बताए ।

ब्यानरतर्फ हेर्दै ढुङ्गानाले भने, ‘म कुनै पार्टीको मञ्चमा आएको होइन । म प्रजातन्त्र पुन:स्थापना गर्ने, संसद पुन:स्थापना गर्ने, प्रतिनिधिसभा पुन:स्थापना गर्ने एउटा राष्ट्रिय मञ्चमा आएको हुँ ।’

सबैको धारणा सुनेपछि जवाफ दिँदै नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले साझा ब्यानरमा आन्दोलन गर्न तयार रहेको बताए । ‘तपाईंको भावनालाई सम्मान गर्दै यो मोर्चामा हाम्रो झण्डा होइन, साझा झण्डामा रहनुपर्ने हुन्छ । हामी भनिरहेका छैनौं कि तपाईंहरुलाई हाम्रो पार्टीको झण्डामा जाऔं । किनभने यो साझा सरोकारको विषय हो’ नेपालले भने ।

केपी ओली प्रतिगामी भए पार्टीमा किन राखेको ?

प्रचण्ड–माधव समूहले केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाएको छ । तर सचिवालयमा उनी छन् ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रश्न गरे, ‘तपाईंहरुको दोहोरो मापदण्ड किन ? केपी ओली प्रतिगामी, तानाशाह, निरंकुश भन्ने अनि पार्टी सचिवालयमा राखिराख्ने ?’

उनले प्रधानमन्त्री ओली लगायत ८/१० जना नेतालाई पार्टी सदस्यबाटै हटाउने हिम्मत गर्न प्रचण्ड–माधव समूहलाई सुझाव दिए । ‘जसलाई प्रतिगामी भनिरहनुभएको छ, ऊ उसका ८/१० जना नेतालाई पार्टी सदस्यबाटै हटाउने हिम्मत गर्नुस् । त्यसपछि तपाईंहरुको भनाइ र व्यवहारमा एकरूपता आउला, केपी ओलीको असंवैधानिक कदम सच्याउन मद्दत पनि गर्न सक्छ’ उनले भने ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ओलीलाई पार्टीबाट हटाउन र पार्टीको ब्यानरमा सबैलाई राखेर कार्यक्रम नगर्न सुझाव दिए ।

मानवअधिकार आयोगका निवर्तमान सदस्य मोहना अन्सारी लगायतले पनि प्रतिगमनकारी भनिएका पात्र ओलीसँग सँगसँगै नरहेको सन्देश दिन प्रचण्ड–माधव समूहलाई सुझाव दिएका छन् ।

प्रचण्ड–नेपाल ओली पथमा जान्नन् भन्ने के ग्यारेन्टी ?

नागरिक समाजका अगुवाहरुले गरेको अर्को चोटिलो प्रश्न हो– प्रचण्ड–नेपाल ओली पथमा जान्नन् भन्ने के ग्यारेण्टी ?

पूर्वसभामुख दमननाथ ढुङ्गानाले प्रतिनिधि सभा पुन:स्थापना हुँदैमा सबै समाधान नहुने भन्दै फेरि यस्तो नहुने ग्यारेन्टी खोजे । ‘जबसम्म चेक एण्ड ब्यालेन्स गर्न सक्देनौं, तबसम्म आज ओलीले जे गरे, हिजो राजा महेन्द्रले जे गरेका थिए, भोलि अर्को प्रधानमन्त्रीले दोहोर्‍याइरहन्छ । सार्वभौम संस्थामाथि बारम्बार प्रहार भइराखेको छ’ ढुङ्गानाले भने, ‘तपाईंहरु फेरि प्रधानमन्त्री हुनुहोला । ओलीले झैँ गर्नुहुन्न भने ग्यारेन्टी कसरी पाउने हामीले ?’

नेकपाका शीर्ष नेताहरुले पार्टीभित्रैबाट ओलीलाई समयमै रोक्न नसकेको वा बढ्ता पेल्दाको परिणाम अहिले मुलुकले भोगिरहेको ढुङ्गानाको तर्क छ । ‘तपाईंहरुले ओलीजीलाई भित्तासम्म ठेल्नुभयो, अनि ओलीजीले संविधान तोडेर निर्णय लिनुभयो । गल्ती संयुक्त गल्ती हो । तपाईंहरु उत्तिकै जिम्मेवार हुनुहुनुन्छ, जति ओलीजी हुनुहुन्छ । किनभने तपाईंहरुले चेक गर्नुभएन’ उनले भने ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्ड, माधव र झलनाथलाई राजनीतिबाट विश्राम लिन्छु भनेर आन्दोलनमा होमिन सुझाव दिए ।

‘यु आर नट सोलुसन, यु आर अल्सो प्रोब्लम’ त्रिपाठीले भने, ‘तपाईंहरु प्रधानमन्त्री भइसकेका मान्छेहरु हुनुहुन्छ । त्यसकारण हामी चेक गर्छौं तर आफैँ सत्तामा जान्नौं, राजनीतिबाट विश्राम लिन्छौं भनेर आउनुस् ।’

सत्तामा जाने भर्‍याङ हो नागरिक समाज ?

नागरिक समाजका अगुवाहरुले नेताहरुले नागरिक समाजलाई सत्तामा जाने भर्‍याङ मात्रै बनाएको गुनासो गरेका छन् र अब नागरिक समाजको राज्यमा पहुँच कसरी हुन्छ भनेर पनि प्रश्न गरेका छन् ।

‘नागरिक समाजको शंखनादले यत्रो ठूलो परिवर्तन आयो । नागरिक समाजको भूमिका कहाँ छ खै ? राष्ट्रिय सभामा जम्मा तीन वटा सिट मनोनित त्यहाँ पनि राजनीतिक व्यक्ति नै जाने ? कहाँ छ नागरिक समाजको योगदानको कदर ?’ नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्ध थापाले आक्रोश पोखे ।

‘सत्तामा जाने भर्‍याङ मात्रै हो नागरिक समाज ? नेपालमा २००७ देखि आन्दोलन भएको छ र हरेकपल्ट अन्तिम लडाइँ भन्ने गरिन्छ । कहिलेसम्म आन्दोलन ?’ उनी अगाडि भन्छन्, ‘ओलीको असंवैधानिक कदमका विरुद्ध आफ्नो पूर्ण विरोध र आन्दोलनमा सहभागिता रहन्छ । तर अब त नेताहरुले स्थिरता र नागरिक समाजको योगदानको कदर गर्नुपर्‍यो । यो कुरा यहाँहरुबाट आओस् भन्ने चाहन्छौं ।’

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएका सञ्चार विधेयकलगायत सरकारका गलत कामको विरोध गर्दा नेताहरुबाट समर्थन नपाइएको गुनासो गरे । ‘हामी पटकपटक सडकमा आयौं, त्यो बेला यहाँहरु मौन रहनुभयो । सरकार गलत बाटोमा गयो भनेर हामी कराइरह्यौं यहाँहरु बोल्नुभएन’ विष्टले भने ।

पूर्वराजदूत लीलामणि पौडेलले संसद पुन:स्थापना भएर बन्ने सरकार पनि नागरिकप्रति उत्तरदायी नहुने हो कि, जनताको आधारभूत आवश्यकतामा ध्यान नपुग्ने हो कि भन्ने आशंका रहेको बताए ।

नागरिक समाजका तर्फबाट धारणा राख्ने नारायण वाग्ले, हरिहर दाहाल, दीपेन्द्रबहादुर क्षेत्रीलगायतले पनि विगतमा नागरिक समाजका तर्फबाट भएका आन्दोलन, विशेषगरी प्रधानमन्त्री ओलीका कदमविरुद्धका आन्दोलनले प्रचण्ड– माधव नेपाल लगायतको समर्थन पाउन नसकेको गुनासो गरे । माइतीघरमा आन्दोलन गर्न पाइन्न भनेर भनिँदा समेत शीर्ष नेताहरु नबोलेको गुनासो उनीहरुको छ ।

एउटै ड्याङका मुला हुन नभन्नुस् : माधव नेपाल

सबैको धारणा सुनेपछि सम्बोधन गरेका प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले सबैलाई एकै नठान्न आग्रह गरे ।

‘सबैलाई एउटै क्याटगोरीमा नराख्नुस्, सबै एउटै ड्याङका मुला हुन नभन्नुस्’ उनले भने, ‘जुनसुकै सेक्टरमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे मान्छे पनि हुन्छन्, त्यसलाई विश्लेषण गरेर हेरिदिनुस् । राम्रो गर्नेलाई प्रोत्साहित गर्नुस्, नराम्रो गर्नेलाई दुरुत्साहित गर्नुस् ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीको तौरतरिकामा चित्त नबुझेपछि आफूले संसदमा देश डुब्न लायो भनेर बोलेको र त्यही वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका लागि पार्टीमा आवाज उठाएको बताए ।

कोरोना लगायतका जनताका मुद्दाहरुमा पार्टीभित्र विवाद बहस गर्न खोज्दा छलफल नै नगरेपछि आफूहरुको केही नलागेको उनले बताए । फरक मत राख्नेहरुलाई बाँकी नराख्ने र गणेशहरु मात्र खोज्ने ओलीको त्यही प्रवृत्तिलाई चित्रण गरेर आफूले बा बा प्रवृत्ति भनेको पूर्वप्रधानमन्त्री नेपालले बताए । केपी ओली होइन, ओली प्रवृत्ति समस्या भएको उनको भनाइ थियो ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?