Comments Add Comment

शल्यक्रिया गर्दा महिलाको मृत्यु भएपछि क्लिनिक तोडफोड

४ माघ, विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् ।

बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयले आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् ।
क्लिनिकमा पित्तथैलीमा भएको पथरी झिक्न शल्यक्रिया गरेकी महिलाको उपचारको क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

अवधनारायण मेमोरियल क्लिनिकले शल्यक्रिया गर्दा लापरबाही गरेको उनीहरुको आरोप छ ।

सजना गत पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएकी थिइन् । उनको सोही दिन शल्यक्रिया भएको थियो । तर शल्यक्रिया पछि उनको अवस्था जटिल बन्दै गयो । क्लिनिकमा आईसीयूसहित अत्यावश्यक सेवा नभएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । क्लिनिकको लापरबाहीका कारण छोरी सजनाको मृत्यु भएको होमबहादुर राईले बताए ।

आइतबार भेला भएका स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए । अवस्थालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment