Comments Add Comment

राष्ट्रियगान र प्रदेश प्रमुखको पत्र पढेपछि प्रदेशसभा स्थगित, मुख्यमन्त्रीको बिहेपछि निरन्तर छलफल हुने

अर्को बैठक अनिश्चित

विराटनगर । नेकपा विभाजनपछि बुधबारका लागि आह्वान गरिएको प्रदेश १ को हिउँदे अधिवेशन तीन मिनेट नबसी अनिश्चितकालका लागि स्थगित भएको छ । दोस्रो बैठक कहिले बस्ने भनी सभामुख प्रदीपकुमार भण्डारीले मिति तोकेका छैनन् ।

नेकपा विभाजनपछि बुधबारको बैठकमा दुवै समूह एक अर्कालाई अवरोध गर्ने रणनीतिमा थिए । मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूह मुख्यमन्त्री राईलाई दलको नेताको हैसियतमा बोल्न नदिने पक्षमा थियो ।

ओली समूहले भने मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा उपस्थित हुन नदिने योजनामा थियो । त्यसैले प्रदेशसभामा मुठभेड हुन सक्ने अनुमान पनि गरिएको थियो । तर, बुधबार बिहान सभामुख भण्डारीले राखेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि दुवै समूह नरम भए । दलका नेताले सम्बोधन गर्ने विषयमा टुंगो नलागेपछि सभामुखले प्रदेश प्रमुखले पठाएको पत्र बाचनपछि बैठक स्थगित गर्ने बताए ।

संवैधानिक संकट आउने भएपछि ओली समूहले निलम्बनमा परेका सांसदलाई अवरोध नगर्ने भन्यो । दलका नेताले पनि नबोल्ने सहमति भयो । संविधान अनुसार प्रदेशसभाको दुई अधिवेशनबीचको फरक ६ महिना भन्दा बढी हुनुहुन्न । त्यसैले बुधबार बैठक बस्नैपर्ने थियो ।

प्रदेशसभामा अवरोध हुनसक्ने भएपछि नेकपा प्रचण्ड–माधव समूहका सांसद एकै पटक प्रदेशसभामा प्रवेश गरेका थिए । मुख्यमन्त्री शेरधन राई भने प्रदेशसभा बैठकमा उपस्थित भएनन् । नेकपा विभाजनको असर प्रदेशमा देखिन सक्ने भन्दै संसद  बाहिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सभामुख भण्डारी बैठक कक्षमा प्रवेश गरेको ३ मिनेट बित्न नपाउँदै बैठक स्थगित भएको घोषणा गरे । सभामुखको प्रवेशपछि राष्ट्रिय गान बज्यो, त्यसपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र बाचन भयो । पत्र बाचनपछि सभामुखले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएपछि बैठक स्थगित भयो ।

तोडियो परम्परा

सामान्यतयाः अधिवेशनको सुरुवात र अन्त्यमा दलका नेताले सम्बोधन गर्ने परम्परा पुरानै थियो । तर नेकपा विभाजनपछि आह्वान भएको बैठकमा परम्परा तोडिएको छ ।

राजनीतिक सहमतिपछि दोस्रो बैठक आह्वान गर्ने र त्यहाँ दलका नेताको सम्बोधन हुनेछ । त्यसपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढ्नेछ ।

मुख्यमन्त्रीको बिहेपछि निरन्तर छलफल

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले दोस्रो बैठक सभामुखले परामर्शपछि आह्वान गर्ने बताए । उनका अनुसार बैठक माघ १५–१६ गते बोलाइन सक्छ । ११ माघमा मुख्यमन्त्री शेरधन राईले विवाह गर्दैछन् । यही कारण बैठक केही दिन पछि धकेलिन सक्छ ।

प्रमुख सचेतक राजभण्डारीले निलम्बन गरेका सांसदलाई प्रवेश गर्न नपाउने आफ्नो अडान कायम नै रहेको बताए । यद्यपी राजनीतिक रुपमा समस्या सामधानपछि सदन अगाडि बढाउनुपर्छ भन्ने सभामुखको आग्रहलाई स्वीकार गरेको उनले बताए । ‘१६ जनालाई कारवाही गरिएको कुरालाई पछि के गर्न सकिन्छ त्यसको निचोड निस्कन्छ अनि सदन सञ्चालन हुन्छ’ उनले भने ‘अविश्वासको प्रस्ताव टेबल हुन्छ । टेबुलपछि पूर्ण रुपमा असफल हुन्छ ।’

नेकपा प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले पनि सभामुखले बैठकको मिति तोक्ने बताए । अब बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने उनले बताए । संविधानमा एक चौथाइ दलका सदस्यले अविश्वासको प्रस्ताव राखे छलफल गर्नुपर्ने बताउँदै सभामा अनिवार्य रुपमा छलफल हुने बताए ।

उनले अब संसदले अविश्वासको प्रस्तावको छिनोफानो हुने बताए । ‘प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा अब संसदले नै यसको छिनोफानो गर्छ’ उनले भने ‘लोकतान्त्रिक प्रक्रियाद्वारा संसदले दिएको फैसला हामी मान्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment