Comments Add Comment

प्रचण्ड-माधव काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, ओली भन्छन् : खुरुखुरु बाटो छाडिँदैन

८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनलगत्तै एक महिना अघिदेखि नै देशव्यापी आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव समूहले भोलि (शुक्रबार) राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रचण्ड–माधव समूहले आन्दोलन चर्काउँदै लगे पनि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीचाहिँ सजिलै गल्ने पक्षमा छैनन् । ओलीले आफूविरुद्धको सडक आन्दोलनलाई तमासाको संज्ञा दिँदै भनेका छन्, खुरुखुरु बाटो छाडिन्न !

संसद विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिएको प्रचण्ड–माधव समूहले शुक्रबार राजधानीमा एकीकृत प्रदर्शन गर्ने तयारी गरेको हो । केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराई यो जनप्रदर्शनले संविधान जोगाउने र संसद् पुनस्र्थापनाको आधार खडा गर्ने दाबी गर्छन् ।

दोस्रो चरणको संघर्षको कार्यक्रमलाई संशोधन गर्दै माघ ३ को स्थायी कमिटी बैठकले माघ ९ गते सशक्त र एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको थियो । यो समूहका नेताहरुले भोलिको जनप्रदर्शनमा राजधानी भरिभराऊ हुने बताउँदै आएका छन् । जनताका प्रतिनिधिले बनाएको संविधान र जनप्रतिनिधिहरुको संस्था संसद् जोगाउन भोलि जनता स्वयं सडकमा उत्रने भट्टराई बताउँछन् । भोलिको आमसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने भट्टराईले बताएका छन् ।

सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद् विघटनको मुद्दा र निर्वाचन आयोगमा पार्टीको वैधानिकता विवाद चलिरहेकै बेला यो समूहले जनप्रदर्शनबाट आफ्नो तागत देखाउने रणनीति बनाएको देखिन्छ । तथापि माधव नेपाल र प्रचण्डसहितका नेताहरुले यो जनप्रदर्शनबाट अदालत र आयोगलाई दबाव नभई सहजीकरण गर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

यसअघि पुस १४ मा उपत्यकाका जनशक्ति सडकमा उतारेको प्रचण्ड–माधव समूहले शुक्रबार भने बागमती, गण्डकी र प्रदेश–२ का केही जिल्लाहरुबाट समेत कार्यकर्ता राजधानी ल्याउनेछन् । प्रदर्शनमा सहभागी हुन धेरैजसो जिल्लाबाट कार्यकर्ताहरु काठमाडौं आइसकेको भट्टराईले बताए । संसद् विघटनको विपक्षमा रहेका राजनीतिक दलहरु, नागरिक समाज, पेशाकर्मीहरुसँग संयुक्त प्रदर्शनको प्रयास गरेको यो समूहले अन्ततः एकल जनप्रदर्शन गर्दैछ । नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको भन्दै संयुक्त प्रदर्शनमा विपक्षी दलहरु तयार नभएपछि यो समूहले एकल शक्ति प्रदर्शन गर्न लागेको हो ।

यस्तो छ तयारी

प्रचार, तयारी र प्रदर्शनको निर्धारित रुटले पनि शुक्रबारको जनप्रदर्शनलाई सशक्त बनाउने योजना यो समूहको देखिन्छ । भोलि नौ ठाउँबाट निस्कने जुलुस रत्नपार्कबाट फेरि मूल जुलुसमा परिणत हुने र त्यो रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहीद गेट, एनएसी, भोटाहिटी परिक्रमा गर्दै रत्नपार्क नै आइपुग्नेछ । जनप्रदर्शनलाई मर्यादित बनाउन र निर्धारित नारा मात्रै लगाउन संघर्ष समितिले निर्देशन दिएको छ ।

विहीबार साँझ राँके जुलुस प्रदर्शन गर्दै प्रचण्ड-माधव समूहका कार्यकर्ता

लगभग पूरै दिन प्रदर्शन गर्ने योजना बनाएको प्रचण्ड–माधव समूहले राजधानी उपत्यकाबाटै धेरै जनशक्ति उतार्ने तयारी गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट निर्वाचन क्षेत्रस्तरीय क्लस्टर अनुसार, जनप्रदर्शनको तयारी गरिएको नेताहरु बताउँछन् ।

उपत्यका बाहेक काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, गण्डकी प्रदेश र प्रदेश २ का जिल्लाबाट समेत प्रदर्शनका लागि कार्यकर्ता राजधानी ल्याइएको छ । बिहान १०ः४५ बजेबाट शुरु हुने प्रदर्शन राजधानीका विभिन्न ९ स्थानमा शुरु हुनेछ ।

माइतीघर, डिल्लीबजार, लौनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज र वाल्मिकी क्याम्पसबाट प्रदर्शन निकाल्ने तयारी गरिएको छ । माइतीघरबाट निस्कने प्रदर्शनमा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, पेशागत संगठन, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जिनियर र प्रदेश २ का जिल्लाबाट आउनेहरु सहभागी हुनेछन् । यो प्रदर्शनको अगुवाइ गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लिलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडाले गर्नेछन् ।

डिल्लीबजारबाट निस्कने प्रदर्शनमा काठमाडौं–३, ४ र ५ बाट आउने सहभागी हुनेछन् भने वर्षमान पुन र वेदुराम भुसालले अगुवाइ गर्नेछन् । लैनचौरबाट निस्कने जुलुसमा काठमाडौं–६ र ७, नुवाकोट र रसुवाका कार्यकर्ता सहभागी हुनेछन् । यो जुलुसको नेतृत्व भीम रावल, शक्ति बस्नेत र नन्दकुमार प्रसाईले गर्नेछन् ।

त्रिपुरेश्वरबाट निस्कने प्रदर्शनमा काठमाडौं–८, ९ र १०, धादिङ, चितवन, मकवानपुर र गण्डकी प्रदेशबाट आउने सहभागी हुनेछन् भने देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले यसको अगुवाइ गर्नेछन् । कुपण्डोलबाट निस्कने प्रदर्शनमा ललितपुर, खेलकुद र सुकुम्बासी संगठनका सहभागी हुनेछन् । यो प्रदर्शनलाई कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दकुमार थापाले नेतृत्व गर्नेछन् ।

प्रदर्शनीमार्गबाट निस्कने जुलुसमा सम्पर्क कमिटी, आदिवासी जनजाति र बाँकी सवै जनसंगठनकाहरु सहभागी हुनेछन् । यो प्रदर्शनको नेतृत्व घनश्याम भूसाल र जनार्दन शर्माले गर्नेछन् । शान्तिबाटिकाबाट मजदुरहरु प्रदर्शनमा उत्रनेछन् भने नारायणकाजी श्रेष्ठले त्यसको नेतृत्व लिनेछन् ।

त्रिचन्द्र कलेजबाट निस्कने विद्यार्थीहरुको प्रदर्शनको नेतृत्व देव गुरुङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने र हितमान शाक्यले गर्नेछन् । पेशागत क्षेत्रका सवै संगठनका कार्यकर्ताहरु वाल्मिकी क्याम्पसबाट प्रदर्शनमा उत्रनेछन् । यसको नेतृत्व अमृत बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्नेछन् ।

प्रदर्शनमा मुख्य नेतृत्वको सुरक्षाको जिम्मा राष्ट्रिय युवा संघलाई दिइएको छ । त्यसको अन्तिम तयारी विहीबार साँझै भइसकेको छ । राजधानीको प्रमुख सडक ठप्प बनाउने गरी प्रदर्शन गर्ने र रत्नपार्क पुगेर हुने आमसभालाई अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी नेता घनश्याम भुसाललगायतले सम्बोधन गर्दैछन् ।

खुरुखुरु बाटो छाडिँदैन : ओली

प्रचण्ड–माधव समूहले सरकारमाथि दबावका लागि राजधानीमा प्रदर्शनको तयारी गरिरहेकै पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसलाई नाटक र तमासाको संज्ञा दिएका छन् । उनीहरुका लागि खुरुखुरु बाटो नछाड्ने ओलीले बताएका छन् ।

कामचलाऊ सरकारका प्रधानमन्त्री ओलीले विहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘समाजमा विभिन्न प्रकारका तत्वहरु हुन्छन्, शक्तिहरु हुन्छन्, व्यक्तिहरु हुन्छन् । तिनले आफ्ना स्वार्थका लागि अनेक प्रकारका हाऊभाऊ गर्छन् । तिनीहरुले जनतालाई सिनेमा देखाउँछन्, सिनेमा । केही मान्छेहरु नाटक देखाउन आउँछन् । तमासा गर्छन् ।’

ओलीले भने, ‘…यो हामीलाई खुरुखुरु बाटो छोड्दिन्छ, त्यस्तो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment