Comments Add Comment

अदालतले मृत घोषित गर्यो, म ज्यूँदै छु भन्दै चार वर्षदेखि लडिरहेकी छिन् यी महिला

काठमाडौं । युरोपेली मुलुक फ्रान्सकी नागरिक जेनी पाउचेनको समस्या निकै अनौठो तथा अद्वितीय नै छ । आधिकारिक कागजातमा उनको मृत्यु भैसकेको छ । तर आफू ज्यूँदै भएको प्रमाणित गर्नका लागि उनी संघर्ष गरिरहेकी छिन् ।

५८ वर्षकी जेनी फ्रान्सको लोरे क्षेत्रमा पर्ने सेन्ट जोसेफ गाउँमा बस्दछिन् । उनीको हरेक दिन त्रासमा बित्ने गरेको छ र घरबाहिर निस्किन उनी डराउँछिन् ।

ऋण चुक्ता नगरेको भन्दै उनको कार समेत लिलाम भैसकेको छ, जसले उनको समस्या झनै बढाएको छ ।

कार पछि अब घरका फर्निचरहरु पनि लिलाम हुने डर उनलाई छ । आफ्ना पति तथा छोरासँग उनको संयुक्त बैंक खाता छ । तर सरकारी कागजातमा जेनीको मृत्यु भैसकेको छ । त्यसैले बैंक खातामा पैसा भए पनि त्यो खाता उनले चलाउन पाएकी छैनिन् ।

मृत घोषित भएकै कारण उनले अन्य धेरै सेवा सुविधाबाट पनि बञ्चित हुनु परेको छ ।
सन् २०१७ मा लियोन अदालतको फैसलाले उनलाई मृत घोषित गरेको थियो, तर उनको मृत्यु दर्ता प्रमाणपत्र पनि छैन ।

जेनीले पहिले काम गर्ने गरेको सफाइ कम्पनीसँगको कानूनी लडाइँको फलस्वरुप अदालतले उनलाई मृत घोषित गर्यो । २० वर्षअघि जागिर गुमाएकी उनले कम्पनीबाट क्षतिपूर्तिको माग गर्दै मुद्दा हालेकी थिइन् ।

तर उक्त मुद्दामा फैसला गर्ने क्रममा लियोनस्थित पुनरावेदन अदालतमा भएको त्रुटीले उनलाई उक्त कम्पनीका भूतपूर्व मृतक कर्मचारीको सूचिमा राखिदियो ।

अदालतले सुनुवाइका क्रममा जेनी र उनका कुनै पनि साक्षी तथा आफन्तहरुलाई अदालतमा नबोलाएका कारण यस्तो गम्भीर त्रुुटी भएको बताइएको छ ।

जेनीका वकिलले गत सोमबार अदालतको ४ वर्षअघिको उक्त गम्भीर त्रुटीयुक्त फैसला खारेजीको माग गर्दै अदालतमा निवेदन पेश गरेका छन् । आफ्नो वकालत जीवनमा यस्तो घटना पहिलो पटक भएको उनको भनाइ छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment