Comments Add Comment

९ वर्षको तयारीपछि भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली

निजी क्षेत्र भन्छ-सफल कार्यन्वयन होस्

१३ माघ, काठमाडौं । भन्सारका सबै कागजी काम सेवाग्राहीको भौतिक उपस्थितिबिनै सम्पन्न गर्ने उद्देश्यसाथ अघि बढाइएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आएको छ ।

सन् २०१३ मा परिकल्पनाको रुपमा अघि बढाइएको योजना ९ वर्षपछि कार्यान्वयनमा आएको छ । योसँगै भन्सारमा कागजी काम कारबाहीको युग सकिएको भन्सार विभागले दावी गरेको छ ।

मंगलबार ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रणालीको सुरुआत गरे । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि नेपालको भन्सार प्रशासन अन्तर्राष्ट्रिय स्तरको भएको भन्दै प्रणाली सञ्चालन व्यवस्थित गर्दै अघि बढ्ने मन्त्री पौडेलले बताए ।

मंगलबारदेखि भन्सार प्रक्रियामा जोडिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वरिन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र र पशु सेवा विभागको सेवा एकद्वार प्रणालीमार्फत सुरु भएको छ ।

एकद्वार प्रणाली परियोजना कार्यन्वयन इकाईकाअनुसार ति तीन निकायसहित भन्सार विभागबाट सेवाग्राहीले लिनुपर्ने सेवा अब अनलाइनबाट घरमा बसेर सेवाग्राहीले पाउने छन् । प्रणालीमा अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सूचना तथा सेवा उद्योगी व्यवसायीले अनलाइनबाटै पाउनेछन् । यसअघि लाइसेन्स, पर्मिट तथा अन्य सर्टिफिकेटको लागि भन्सार विभागसँगै दर्जन हाराहारी सरकारी निकायमा सेवाग्राही धाउनु पथ्र्यो ।

अन्तर्राष्ट्रिय व्यापारसँग जोडिने अन्तरसरकारीसहित निजी तथा अन्य गरी ४० वटा भन्दा बढी निकायहरु आगामी साउनसम्म प्रणालीमा आबद्ध भइसक्ने छन् । घरमै बसेर सेवाग्राहीले आफ्ना सबै कागज पत्र प्रणालीमा समावेश गरेर प्राप्त गर्ने सेवाले डुइङ बिजनेस कष्ट घटाउने सरकारी दावी छ ।

नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तरगत सन् २०१३ जुलाइमा नेपाल सरकार र विश्व बैंकबीच भएको सहयोग समझदारी पछि आयोजनाको काम अघि बढेको थियो ।

वेब फाउन्टेन दुबईले निर्माण गरेको एकद्वार प्रणालीको भन्सारको अनलाइन प्रणाली आसिकोडा वर्ल्डसँग पनि संयोजन गरिएको छ । एकद्वार प्रणालीले व्यवसायीमा नयाँ उत्साह थपिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् ।

‘बदलिँदो युगसँगै प्रविधि आत्मसात गरेको भन्सार थप व्यवस्थित हुन जरुरी छ,’ अध्यक्ष गोल्छाले भने । प्रणालीको सफल र व्यवस्थित कार्यान्वयन जरुरी भएको उनको भनाइ छ  ।

एकद्वार प्रणालीले विद्यामान समस्याहरु हल गर्न सहयोगी हुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । ‘अनलाइन प्रणालीले व्यवसायीहरुको समय र खर्चको जोहो गर्छ, यसलाई सबल कार्यान्वयन चुनौतीपूर्ण छ,’ श्रेष्ठले भने ।

एकद्वार प्रणाली सञ्चालनपछि भन्सार प्रशासन सुधार गर्न महत्वपूर्ण भएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालको भनाइ छ । अब भन्सार पूर्वाधार निर्माण तथा व्यवस्थित गर्न सरकारले ध्यान दिनु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment