Comments Add Comment

चल्तीका नायकसँग उपासनाको सहकार्य

नेपाली चलचित्र क्षेत्रका चल्तीका नायकहरु राजेश हमाल, दयाहाङ राई, आर्यन सिग्देल, अनमोल केसी, प्रदिप खड्का, पल शाह, सौगात मल्ल, विपिन कार्की लगायतसँग पर्दा शेयर गर्ने चाहना धेरै कलाकारमा हुन्छ । अझ, नयाँ कलाकारहरुमा त यी चल्तीका नायकहरुसँग काम गर्दा करिअर नै फेरिने आशा समेत हुन्छ । तर, सबैले यो मौका भने पाउँदैनन् ।

नायिका उपासना सिंह ठकुरी भने यो अर्थमा भाग्यमानी देखिएकी छिन् । उनले, आफ्नो डेब्य चलचित्रदेखि लगातार चलचित्र बजारमा सर्वाधिक क्रेज भएका कलाकारसँग नै पर्दा शेयर गरिरहेकी छिन् ।

उपासनाले पहिलो चलचित्रमा नायक अनमोल केसीसँग काम गरिन् । चलचित्र बजारमा के समेत भनिन्छ भने, नायक अनमोल केसीसँग काम गर्ने नायिकाको करिअर बदलिन्छ । अनमोलसँग काम गरेका केही नायिका स्टार भएका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह, आना शर्मा, श्रृष्टी श्रेष्ठ, सुहाना थापा यसका उदाहरण हुन् । उपासनाले चलचित्र ‘क्याप्टेन’मा अनमोलसँग काम गरेकी थिइन् ।

उनले, दोश्रो चलचित्रमा नायक दयाहाङ राइसँग काम गरिन् । दयासँग ‘कबड्डी’को तेश्रो सिरिजमा काम गरेकी उनको करिअर चम्कियो । यो चलचित्रले करिब १० करोड ग्रस व्यापार गर्यो । उपासनाको क्रेज ह्वात्तै माथि पुग्यो ।

उपासना, आफ्नो तेश्रो चलचित्र ‘डिसेम्बर फल्स’मा नायक आर्यन सिग्देलसँग काम गरिरहेकी छिन् । नायक सिग्देलको क्रेज चलचित्र बजारमा राम्रो मानिन्छ । केही बर्ष अगाडिसम्म आर्यन चलचित्र क्षेत्रकै नम्बर १ नायक समेत थिए । चकलेटी यी नायकसँग पर्दा शेयर गर्दा उपासनालाई पक्कै पनि फाइदा हुनेछ ।

उपासनाले चौथो चलचित्रको रुपमा ‘सत्यम्’मा काम गर्न लागेको चर्चा छ । यो चलचित्र उनले साइन गरिसकेकी छैनन्, तर मौखिक रुपमा सहमती भने दिइसकेकी छिन् । यो चलचित्रमा नायक राजेश हमालले काम गर्दैछन् । राजेश हमालसँग चौथो चलचित्रमा पर्दा शेयर गर्न लागेकी उपासनाका लागि यो पक्कै पनि सुखद कुरा हो । चलचित्रमा पल शाह पनि रहने चर्चा छ ।

यसरीहेर्दा, आफ्नो करिअरको छोटो समयमा नै उपासनाले लोभलाग्दो फड्को मात्र मारेकी छैनन्, देशकै चर्चित नायकहरुसँग काम पनि गरिरहेकी छिन् । यसअर्थमा, उनलाई भाग्यमानी पनि मान्न सकिन्छ । तर, उपासनाको मिहिनेतले पनि उनलाई यो स्थानमा ल्याएको भुल्न भने हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment