Comments Add Comment

भारतले बढायो नेपाललाई दिने अनुदान, १५ अर्ब ८७ करोड विनियोजन

१९ माघ, काठमाडौं । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढेको छ ।

भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ । यसअघि भारतले आव २०२०-२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९-२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।

गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । तर आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा वृद्धि भएको हो ।

यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।

सबैभन्दा ठूलो अनुदान भुटानलाई

भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भुटानलाई छुट्टयाउने गरेको छ । यो रकममा समेत भारतले उल्लेख वृद्धि गरेको छ । आंकडा अनुसार आव २०२१-२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने छ ।

चालु आव २०२०-२१ मा भने भुटानले २२ अर्ब ६१ करोड पाएको थियो । त्यसअगाडिको आवमा  २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारतले दिएको थियो । यो वर्ष अनुदानका रुपमा भुटानपछि नेपालले बढी अनुदान पाएको छ ।

यस्तो छ भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान (भारु)
भुटान: ३० अर्ब ४ करोड
नेपाल :  ९ अर्ब ९२ करोड
अफगानिस्तान : ३ अर्ब ५० करोड
बंगलादेश : २ अर्ब
नेपाल : ९ अर्ब ९२ करोड
श्रीलंका : २ अर्ब
माल्दिभ्स : २ अर्ब ५० करोड
म्यानमार : ४ अर्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment