Comments Add Comment

ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

विश्लेषक भन्छन्– संकटमा परेको संकेत !

१९ माघ, काठमाडौं । पशुपतिनाथको शिव लिङ्गमा एक अर्ब मूल्य बराबरको सुनको जलहरी लगाउने निर्णय विवादित बनेको छ । तर, यो विवाद नयाँचाहिँ होइन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै पालामा तयार यो प्रस्ताव विवादकै कारण रोकिएको थियो ।

धार्मिक दृष्टिले समेत सुनको जलहरी अनुचित हुने तर्कप्रति बेवास्ता गर्दै कम्युनिष्ट पृष्ठभूमिबाट आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित प्रस्ताव सदर गरेका छन् ।

माघ १२ गते सबेरै पत्नी राधिकासहित पशुपतिनाथको पूजा गर्न पुगेका ओलीले सुनको जलहरी लगाउने प्रस्ताव स्वीकारेका थिए । जलहरी लगाउन एक अर्ब खर्च लाग्ने, तर पशुपति विकास कोषसँग ६५ करोड मात्रै भएको जानकारी पाएपछि बाँकी पैसा सरकारले दिने वचनवद्धता पनि ओलीले गरेका छन् ।

ईश्वरका नाममा शपथ समेत नलिने कम्युनिष्ट प्रधानमन्त्रीहरू मध्ये ओलीमा हिन्दू रूझान बढेको सन्देश सुनको जलहरी लगाउने निर्णयमा मात्रै सीमित हुँदैन । उनका अरू अभिव्यक्ति र निर्णयहरूको शृङ्खला नै बन्दै गएको छ ।

धर्मलाई अफिम मान्ने पृष्ठभूमिबाट ‘यूटर्न’ हुँदै ओली पशुपतिनाथको पूजा गर्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने । बहुदल स्थापनापछि कोही गैरकम्युनिष्ट कार्यकारी प्रमुख समेत पूजाकै लागि पशुपति गएका थिएनन् ।

ओलीले भने पशुपति पुगेर पञ्चामृत पूजा, ओमकार दर्शन, संकल्प पूजा र सवा लाख बत्ति बाले । धर्म निरपेक्ष मुलुकका प्रधानमन्त्रीले देखाएको हिन्दू रूझानप्रति आलोचना भइरहँदा त्यसै दिन चितवन पुगेर ओलीले भने– माडीमा भव्य राम मन्दिर बन्छ । रामको प्रतिमा बनिसक्यो, सीताको बन्दैछ ।

‘जेलमा हुँदा मोहनचन्द्र अधिकारीले पूजा गरेको केपी ओलीले देखेछन् । त्यसपछि पार्टी बैठकमा मोहनचन्द्रलाई कार्वाही हुनुपर्छ भनेर सीपीसँग मिलेर केपी ओलीले माग राखे’, तीन नेता सम्झन्छन् ।

हुन त विपक्षी दल र नेताविरुद्ध तीखो आरोप लगाउन धार्मिक ग्रन्थहरूको पात्र र प्रवृत्तिको प्रयोग ओलीका निम्ति नयाँ होइन । चितवन पुगेर पनि पुष्पकमल दाहाल प्रचण्डप्रति राम मन्दिरकै विषयमा आरोप लगाए । ‘यही जिल्लाबाट छानिएका, त्यही क्षेत्रबाट निर्वाचित सांसद राम मन्मभूमि अयोध्यामा राम मन्दिर बनाउने कुरा किन चुइँक्क बोल्न सक्नुहुन्न ?’, ओलीको प्रश्न थियो ।

धार्मिक ग्रन्थ रामायण वर्णित रामको जन्म भारतमा नभएर नेपालको माडीस्थित अयोध्यापुरीमा भएको अभिव्यक्तिका कारण विवादित बन्दा पनि ओलीले लगाइरहेको रटानले पनि उनमा हिन्दू रुझान बढेको आशंकालाई बल पुग्छ । कतिपयले ओलीलाई कमल थापाको लाइनमा गएको समेत भन्न थालेका छन् ।

गत असार २९ मा भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा भारतको अयोध्या नक्कली भएको ओलीले बताएका थिए । यसैकारण परराष्ट्र मन्त्रालयले वक्तव्य नै जारी गरेर, यो कुटनैतिक विषय नभएको प्रष्टोक्ति दिनु परेको थियो ।

संकटमा परेको संकेत !

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओलीको गतिविधि र अभिव्यक्तिलाई धर्म निरपेक्षता परित्यागको संकेतका रुपमा अर्थ्याउँछन् । ‘धर्म निरेपक्ष देशमा कुनै पनि प्रधानमन्त्री पूजाआजा गरेर हिँड्दैन, हिँड्नु पनि हुँदैन । धर्म निरपेक्षतालाई भत्काउनलाई यसो गरिँदैछ’, उनी भन्छन् ।

ओलीसँग राजनैतिक, सैद्धान्तिक र वैचारिक तर्क सकिएकाले ध्यान मोड्न धार्मिक मुद्दा उठाएको श्रेष्ठको विश्लेषण छ ।

हुन पनि संसद विघटन, संवैधानिक परिषदसम्बन्धी अध्यादेशलगायत निर्णयका कारण ओली राजनैतिकरुपमा संकटमा छन् । संसद् विघटनलगत्तै नेकपा विभाजित हुँदा ओलीसँग पूर्वएमालेको आधा संगठन मात्रै छ । पूर्वमाओवादी तर्फका केही नेताहरुले साथ दिए पनि पार्टीभित्र उनी प्रष्ट अल्पमतमा छन् । संसद् विघटन गर्ने निर्णय विरुद्ध उनको समूह बाहेक सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, बुद्धिजीवी आन्दोलनरत छन् ।

विश्लेषक श्रेष्ठ, धार्मिक यात्रा राजनैतिक रूपमा कमजोर भएको प्रमाण रहेको बताउँछन् । हुन पनि ओली आवद्ध दलको सैद्धान्तिक मान्यता मात्रै नभएर स्वयं उनकै पृष्ठभूमि पनि पूजाआजा र धार्मिक गतिविधि विरुद्ध छ । ओलीलाई नजिकबाट चिन्ने एक नेताका अनुसार, पार्टीमा कसैले पूजा गरेको सुन्दा मात्रै पनि उनी कार्वाहीको माग गर्थे ।

‘जेलमा हुँदा मोहनचन्द्र अधिकारीले पूजा गरेको केपी ओलीले देखेछन् । त्यसपछि पार्टी बैठकमा मोहनचन्द्रलाई कार्वाही हुनुपर्छ भनेर सीपीसँग मिलेर केपी ओलीले माग राखे’, तीन नेता सम्झन्छन् । तर, विस्तारै ओली धर्मप्रति उदार बन्न थालेको उनी बताउँछन् ।

२०७२ को संविधान जारी हुने अवस्थामा आइपुग्दा त ओली हिन्दू राज्यको पक्षमा उभिन पुगे । जबकि तत्कालीन एमाले र उसले मार्गदर्शक सिद्धान्त मान्ने जनताको बहुदलीय जनवाद (जबज) ले धर्म निरपेक्ष राज्यको कल्पना गरेको थियो ।

‘अहिले केपी ओलीसँग २०६२/०६३ को जनआन्दोलन र त्यसबाट प्राप्त राजनीतिक उपलब्धी नै मन परेको छैन’, प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे भन्छन् । आइतबार माइतीघर मण्डलामा सांसदहरुको धर्ना सम्बोधनका क्रममा त उनले प्रतिक्रियावादीहरुसँगको साँठगाँठकै कारण ओली धार्मिक गतिविधिमासमेत आरोप लगाए । ‘ओली नयाँ हिसाबले नयाँ पण्डा बनेर, नयाँ मठाधीश बनेर, धर्मको कुरा गरेर नेपाली जनतालाई अल्मल्याउन सक्छु कि भनेर कुचेष्टा गरिरहेका छन्’, उनको भनाइ थियो ।

अयोध्याबारे दिएका अभिव्यक्ति र गतिविधिले पनि ओली पूर्वमान्यताबाट ‘यूटर्न’ भएर हिन्दू रुझानको सन्देश दिन खोजिरहेका छन् । जस्तो– ओली राम मन्दिर बनाउने अभिव्यक्ति त बेला–बेला दिन्छन् । तर, कार्यान्वयनतिर भने चासो दिएका छैनन् । उनले गएको साउन २३ मा माडीका जनप्रतिनिधिलाई बालुवाटार बोलाएर भव्य मन्दिर निर्माणलाई गति दिन निर्देशन दिए । तर, अहिले अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल नै निराश छन् । उनी भन्छन्, ‘माटो परीक्षणसमेत त भएको छैन, थप के कुरा गर्नु र ?’

माडीका मेयर ठाकुरप्रसाद ढकाल त प्रधानमन्त्रीको अभियानकै विपक्षमा छन् । राम मन्दिर बनाउन चासो दिने कुरै भएन । ‘राम मन्दिरसँगै चेपाङको घरको कुरा पनि उठाउनुपर्छ । चेपाङको घर बनाउन शुरु नभइकन राम मन्दिर बनाउने निर्णय भयो भने मेरो सहमति छैन’, उनी भन्छन् ।

माडीमा १९२ घर चेपाङ साउनदेखि त्रिपाल मुुनि बसिरहेका बेला प्रधानमन्त्रीले राम मन्दिर बनाउने भाषण गर्दै हिँडेकोमा ढकालको आपत्ति छ । माडीको जनता र समृद्धिप्रति चिन्तित होइन, हिन्दू रुझानको सन्देश दिन ओली अग्रसर देखिएको उनको निष्कर्ष छ ।

कतिसम्म भने आफ्नो आलोचना गर्नेहरूलाई पनि ओली धार्मिक पदावली नै प्रयोग गरेर गाली गर्न थालेका छन् । गएको माघ ८ मा आफ्नो समूहका प्रेस संगठन नेपालको भेला सम्वोधन गर्दै गलत स्वार्थ भएका पत्रकारहरु नर्कमा जाने अभिव्यक्ति दिए । ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्मा बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन’, आफ्नो आलोचना गर्ने पत्रकारहरुलाई भनेका थिए ।

हिन्दू राज्यको वकालत गर्दै आएको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठ भने हिन्दू धर्मतिर ढल्कनु प्रधानमन्त्री ओलीको बाध्यता भएको बताउँछन् । ‘हिन्दू बहुल समाज प्रधानमन्त्रीले बुझ्नु भएजस्तो छ । हिन्दू धर्मप्रति देखाइएको तदारुकतालाई सकारात्मक रुपमा लिनुपर्छ’, श्रेष्ठ भन्छन् । हिन्दू धर्ममा विश्वास राख्नेहरुको मन जित्न पनि प्रधानमन्त्रीले यस्तो कदम चालेको हुनसक्ने उनी बताउँछन् ।

हुँदाहुँदा संसद् विघटन र मध्यावधि निर्वाचनको पक्षमा जनता रहेको देखाउन आयोजित सभा पनि पूर्वराजदरबार अगाडि राखियो । राजनीतिक गतिविधि हुने थलो भृकुटीमण्डप, रत्नपार्क छोडेर नारायणहिटी दरबार संग्राहलयको गेटमै मञ्च बनाएर सभा राखिनुमा नेकपाकै अर्का समूहका नेताहरु सशंकित छन् । तर, जनसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेल, सभास्थलबारे अनुचित अनुमान लगाउन नहुने बताउँछन् । ‘भृकुटीमण्डपमा सभा गर्दा थोरै मानिस अट्ने भएकाले नारायणहिटी अगाडि राखिएको हो । सत्तारुद्ध दलले सभा गर्दा ट्राफिक व्यवस्थापन पनि हेर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment