Comments Add Comment

प्रदेशसभा वार्षिकोत्सव कार्यक्रम ओली समूहद्वारा बहिस्कार

२१ माघ, जनकपुरधाम । प्रदेशसभा सचिवालयले प्रचण्ड माधव समूहका नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता मानेपछि नेकपा ओली समूहले प्रदेश २ को प्रदेशसभाको तेस्रो बार्षिकोत्सव कार्यक्रम बहिस्कार गरेको छ ।

पार्टीमा विवाद आउनुअघि संसदीय दलको नेता रहेका सत्यनारायण मण्डल रहे पनि प्रदेशसभा सचिवालयले प्रचण्ड–माधव समूहले चयन गरेको संसदीय दलको नेता शत्रुधन महतोलाई मान्यता दिएको भन्दै ओली समूहले बहिस्कार गरेको हो ।

वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रचण्ड–माधव समूहका महतोलाई बोल्न दिएको थियो । उनलाई बोल्न दिएपछि ओली समूहका सांसद रामचन्द्र मण्डलले कार्यक्रम नै छाडेर निस्किएका छन् । उनी निस्किएपछि ओली समूहका थप चार जना सांसद मण्डलकै गाडीमा चढेर बाहिरिए ।

कार्यक्रम छाडेर जाँदै गरेका मण्डलले भने, ‘आठ महिना अगाडि तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुँदा दुबैका नेता रहने र दल विभाजन नभएपनि प्रतिपक्षी दलको नयाँ नेता निर्माण गर्ने ?’

उनले यो काम निन्दनीय रहेको भन्दै विरोध जनाए । तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका मण्डल पार्टीमा विवाद देखिँदा ओली समूहतिर छन् ।

सांसद मण्डल निस्किएको केहीबेरमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साह पनि मञ्च छोडेर गए । दुबैले अति आवश्यक काम भएको भन्दै मञ्च छोडेर बाहिरिएका हुन् । यी दुई मन्त्री बाहिरिँदा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मन्तव्य दिइरहेका थिए ।

प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी छन् ।

कार्यक्रममा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफूले पूर्ण रुपमा सहयोग गरेपनि सरकारको काम नदेखिएको बताए । ‘विकासका पूर्वाधार जसरी खडा हुनुपथ्र्यो, त्यो हुन सकेको छैन’ उनले भने, ‘शिक्षा, स्वास्थ्य क्षेत्र धेरै पछाडि छ ।’

प्रचण्ड–माधव समूहको नेकपाका संसदीय दलका नेता शत्रुधन महतोले सरकार सहमति जुटाउन चुकिरहेको बताए । ‘प्रदेशलाई साँच्चिकै आर्थिक समृद्धितर्फ अगाडि बढाउन, जनताको आयस्तर बढाउन, पर्यटन, कृषि, उद्योगतर्फ सरकारलाई जसरी जिम्मेबारीपूर्वक काम गर्नुपर्ने हो त्यो गर्न सकेको छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment