Comments Add Comment

बेलायतमा एक करोड ५० लाख मानिसले लगाए कोरोना खोप

३ फागुन, काठमाडौं । बेलायतमा एक करोड ५० लाख मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बेलायतले विभिन्न चार समूहका एक करोड ५० लाख मानिसलाई कोरोनाको कम्तीमा एक डोज खोप दिने कार्यक्रम सकाएको हो ।

कोरोना खोपलाई अनुमति दिने पहिलो मुलुक बनेको बेलायतले फेब्रुअरीको मध्यसम्ममा एक करोड ५० लाख मानिसलाई कोरोना खोप दिने लक्ष्य राखेको थियो । सोही लक्ष्य अनुसारको उपलब्धि हासिल भएको बेलायतले बताएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउने वैज्ञानिक, कारखानामा काम गर्ने मानिसहरु, डेलिभरी चालक, स्वास्थ्य नियामक एनएचएसका कर्मचारी, स्वयंसेवकलगायतका मानिसहरुलाई धन्यवाद दिएका छन् ।

सोमबारदेखि बेलायतमा ६५ देखि ६९ वर्ष उमेर समूहका मानिसहरुलाई कोरोना खोपको कार्यक्रम सुरु हुनेछ । बेलायतले आगामी मे महिनासम्म ५० वर्ष उमेर समूहका सबै मानिसहरुलाई र सेप्टेम्बरसम्मा सबै वयस्क नागरिकलाई खोप दिइसक्ने लक्ष्य राखेको छ ।

पछिल्लो केही दिनयता बेलायतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा पनि निरन्तर कमी देखिएको छ । साथै बेलायतले कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को जोखिम रहेको क्षेत्रबाट फर्किएका मानिसहरुलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम ल्याएको छ । यद्यपि मानिसहरुले यो कदम कोरोना नियन्त्रणको लागि पर्याप्त नरहेको भन्दै सरकारको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment