Comments Add Comment

भाउ घटेपछि सुन किन्नेहरु बढे, कोटा थप्न व्यवसायीको माग

१० फागुन, काठमाडौं । निरन्तर मूल्य घटेपछि अहिले नेपाली बजारमा सुनको हाहाकार छ । मूल्य घटेका बेला उपभोक्ताले सुन किन खोजेकाले बजारमा अभाव भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एक समय प्रतितोला १ लाख ३ हजार पुगेको सुनको भाउ हाल ८९ हजार रुपैयाँमा झरेको छ । अहिलेको समयमा सुनको भाउ ९० हजार भन्दा तल हुनु सस्तो मानिन्छ ।

हिजोआज दैनिक झण्डै १० किलो सुन अभाव भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘बजार अहिले दैनिक २० देखि २२ किलो सुनको माग छ तर दैनिक १० किलो मात्रै आयात भइरहँदा अभाव चर्किएको छ’ उनले भने ।

अहिले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएकाले सुनको मूल्य अझै घट्न सक्ने अध्यक्ष शाक्यले बताए । मूल्य घटेमा माग अझै बढ्ने र बजारमा अराजकता आउन सक्ने व्यवसायीहरु बताउँछन् । विहेको सिजनमा सुनको माग ४० किलोसम्म हुने व्यवसायीको भनाइ छ ।

कोटा बढाउन सरकारलाई आग्रह

वैशाखमा विहेको लगन धेरै भएकाले माग बढ्ने भन्दै सुनचाँदी व्यवसायी महासंघको आइतबार बसेको पदाधिकारी बैठकले सुनको कोटा दैनिक १० किलोबाट बढाएर २५ किलो पुर्‍याउन माग गरेको छ ।

महासचिव धर्म सुन्दर बज्राचार्यले मूल्य घटेपछि सुनबजारमा उल्लेख्य ग्राहक देखिएको बताए । अहिले बजारमा बाला, नेक्लेस, तिलहरी तथा विवाहका लागि चाहिने गहना जोड्नेहरु बढेको उनको भनाइ छ ।

नेपालमा सुनको मूल्य अब के हन्छ

गत असारदेखि निरन्तर बढेको सुनको भाउ अहिले घट्दो क्रममा छ । मूल्य अझै घट्ने वा नघट्ने पूर्वानुमान गर्न नसके पनि उच्च बढोत्तरीको सम्भावना नरहेको महासंघका अध्यक्ष मानिकरत्न शाक्य बताउँछन् ।

महासचिव धर्मसुन्दर बज्राचार्य भने अझै भाउ घट्न सक्ने बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमा सुन अझै घट्दो क्रममा छ । हामी अन्तर्राष्ट्रिय बजारबाट प्रभावित हुने भएकाले सुनको भाउमा अझै गिरावट आउने सम्भावना छ,’ उनले भने ।

सुनको अन्तर्राष्ट्रिय भाउ

सन् २०२० मा कोरोना महामारीले विश्व अर्थतन्त्र प्रभावित बन्दा सुनको भाउ भने धेरै बढ्यो । लगानीका अरु क्षेत्र संकुचित भएका बेला सुनमा लगानी बढ्दा सुनको भाउ प्रतिऔंस २०७०.०५ डलरसम्म पुग्यो । गत वर्ष अगष्ट तेस्रो साता कायम सुनको यो भाउ अहिलेसम्मकै उच्च हो ।

उच्च विन्दुमा पुगेर केही समय स्थिर रहेको सुनको भाउ त्यसयता भने निरन्तर ओरोलो लागेको छ । सात महिनामा सुनको भाउ प्रतिऔंस २८५.७७ डलरले घटेको सुनको मूल्य सूचक मापन गर्ने अन्तर्राष्ट्रिय संस्था गोल्डप्राइसले जनाएको छ ।

विश्व अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने अमेरिकी अर्थव्यवस्था कोभिड पछि पुनः पुरानै लयमा फर्किंदाको प्रभाव सुन बजारमा देखिएको समाचार संस्था टीआरटी वर्ल्डले जनाएको छ । ‘अनिश्चित भविष्यको कारण गरिएको सुनको लगानी अब फिर्ता हुँदैछ, त्यसको असर सुनको भौतिक माग घटेको छ’ समाचारमा भनिएको छ ।

पछिल्लो महिना सुनको मूल्यमा आएको गिरावटलाई बैंक अफ अमेरिकाले तीन वटा कारणसँग जोडेर विश्लेषण गरेको छ ।

जसअनुसार पहिलो सुनको भौतिक मागमा ह्वात्तै ह्रास आएको छ, दोस्रो, सुन बजारको भविष्यप्रति लगानीकर्ता अब विश्वस्त छैनन् र तेस्रो, सुनमा लगानी गर्न ग्राहकले पछिल्लो समय चासो देखाएका छैनन् । किनभने लगानीका अरु बाटोहरु अब सहज बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment