Comments Add Comment

इको पावरको सौर्य उर्जा ढल्केबर ग्रिडमा जोडियो

१३ फागुन, काठमाडौं । नेपालको निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना ढल्केबर पावर ग्रिडमा जोडिएको छ । इको पावर डेभलपमेन्ट कम्पनीले यो परियोजना निर्माण गरेको हो ।

प्रदेश २ को धनुषास्थित ढल्केबरमा निर्माण गरिएको परियोजनाबाट १० मेगावाट एसी क्षमताको सौर्य उर्जा राष्ट्रिय ग्रिडमा जोडिएको कम्पनीका अध्यक्ष नवीन सिंहले जानकारी दिए । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई प्रति युनिट ७ रुपैयाँ ३० पैसामा बिजुली बिक्री गरिरहेको अध्यक्ष सिंहले बताए ।

यो परियोजनाको डिजाइन, आपूर्ति, निर्माण र जडान नेपालकै सबैभन्दा ठूलो सौर्य ईपीसी कम्पनी कुशल प्रोजेक्ट्स नेपाल प्रालिले गरेको हो ।

परियोजनाले सुख्खा मौसममा ऊर्जाको अभावलाई सम्बोधन गर्ने र मासिक १९ लाख युनिटभन्दा बढी बिजुली उत्पादन गरेर बिजुली आयातमा निर्भरता कम गर्ने लक्ष्य लिएको छ ।

कुशल प्रोजेक्ट्सका संस्थापक एवं प्रबन्ध निर्देशक प्रशान्त टाटरका अनुसार उनको कम्पनीले नेपालका अन्य ५ स्थानमा ग्रीड जडान गरिने सौर्य परियोजनाहरूको लागि ईपीसी प्राप्त गरेर काम गरिरहेको छ ।

विद्युत् प्राधिकरणको सोलार प्रोजेक्टहरूमार्फत १५ प्रतिशत ऊर्जा मिश्रण गर्ने योजना छ । जसअनुसार नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन सकिन्छ भनेर परियोजनाको काम गरिएको कुशल प्रोजेक्ट्सका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले जानकारी दिए ।

अग्रवालका अनुसार सौर्य ऊर्जा उत्पादनका लागि १ हजार ४५ किलोवाट क्षमताको एक र ४ हजार ५ सय किलोवाट क्षमताका दुई गरी जम्मा ३ वटा एबीबी केन्द्रीय इन्भर्टर जडान गरिएको छ ।

ऊर्जामा आत्मनिर्भर बन्न प्राधिकरणलाई कम्तीमा २०० मेगावाट सौर्य ऊर्जाको तत्काल आवश्यकता छ, जसका लागि ऊर्जा मिश्रण अवधारणा अनुरूप काम गर्दा जाडोयामको माग पूरा हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment