Comments Add Comment

जनताको जीवनमा परिवर्तन ल्याउने लक्ष्यमा सरकार सक्रिय : प्रधानमन्त्री

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने लक्ष्यमा सरकार अघि बढिरहेको बताएका छन् । अवरोधहरु छिचोल्दै स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने काममा सक्रिय भएर लागेको प्रधानमन्त्रीको भनाइ छ ।

सुखानी स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । उनले  आफ्नो नेतृत्वको सरकारले देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको दाबी गरे ।

उनले गणतन्त्र स्थापनाको जग झापा आन्दोलन भएकोसमेत उल्लेख गरेका छन् । ‘कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिष्ट आन्दोलनलाई सवल बनाउन सो आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो,’ ओलीले भनेका छन्, ‘त्यस आन्दोलनको सञ्चालन गरिरहँदा हामीले नेपालमा पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रलाई उखेलेर फाल्ने र सामाजिक न्यायसहितको समतामूलक समाज तथा गणतन्त्र स्थापना गर्ने उदघोष गरेका थियौं । हामीले त्यस उदघोषलाई सार्थक बनाउँदै गणतन्त्र स्थापना गरेका छौं ।’

आजभन्दा ४८ वर्षअघि आजकै दिन झापा आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जंगलमा लगी पञ्चायती सत्ताले हत्या गरेको थियो । सो घटनालाई सुखानी स्मृति दिवसको रुपमा स्मरण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment