Comments Add Comment

प्रवीण बास्तोला मृत्यु प्रकरण : फरार दुई अभियुक्त पक्राउ

विवादमा तानिएका इन्स्पेक्टर जिल्ला तानिए

प्रवीण बास्तोला

२३ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणसँग जोडिएका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

घटनाका मुख्य अभियुक्त झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । प्रहरीले रणपहेलीलाई बुटवलबाट पक्राउ गरेको हो । झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल भने झापाबाट पक्राउ परेका हुन् । दुई साताअघि पक्राउ परेका पौडेलविरुद्ध झापामा मोटरसाइकल चोरीको मुद्दामा अनुसन्धान जारी छ ।

हत्या आरोपमा कानेपोखरी गाउँपालिका–७ रमाइलो घर भई उर्लाबारीमा बस्दै आएका १९ वर्षीय सुदीप परियार, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी जिल्ला अदालत मोरङको आदेश पछि थुनामा छन् ।

हत्या आरोपमा पक्राउ परेका उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी यसअघि धरौटी बुझाएर छुटिसकेका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले राईसँग तीन लाख र गिरीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । न्यायाधीश लामिछानेकै इजलासले परियार र दर्जीलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । रणपहेलीलाई आइतबार जिल्ला अदालतमा पेस गरिएको छ ।

उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले हत्या भएको दाबी गर्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

दर्जी, परियार र पौडेल, गिरीको घरमा डेरा गरी बस्थे । आफूसँगै पढेका साथी बास्तोलालाई लिएर रणपहेली पुस ४ मा पाहुना गएको प्रहरीको भनाइ छ । कोठामा पुग्नुअघि खानपिन गर्ने क्रममा शौरभ होटलका सञ्चालक कुमार राईसँग विवाद भएको थियो । एउटै कोठामा सुतेकामध्ये बास्तोलाको भने शंकास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको थियो ।

आफन्तले प्रहरीले अनुसन्धान प्रभावकारी नगरेको भन्दै एकसाता अघि प्रदर्शन गरेका थिए । प्रदर्शन पछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । प्रहरीले डिएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

अनुसन्धानपछि विवादमा तानिएका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक उद्धप पोखरेल जिल्ला तानिएका छन् । उनको स्थानमा कुन्दन देवलाई पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment