Comments Add Comment

गोरखामा दुई दिनमै सकियो कोभिड-१९ विरुद्धको खोप

खोप लगाउन अस्पताल पुगेका जेष्ठ नागरिकहरु ।

२५ फागुन, गोरखा । गोरखा नगरपालिका–६ बसपार्कका ७८ बर्षीय बाबुराम श्रेष्ठ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन मंगलबार गोरखा अस्पताल पुगे । तर खोप छैन भन्दै उनलाई फर्काइयो । तीन वर्ष अघि क्यान्सरबाट पीडित उनी रोग प्रतिरोधात्मक क्षमता बढाउने आशमा खोप लगाउन अस्पताल पुगेका थिए । तर उनले खोप लगाउन पाएनन् ।

‘तीन वर्ष अघि लिम्फमा नन् हस्किङ क्यान्सर भएको थियो, उपचार पछि अहिले ठिक भाछु, तर रोगसँग लड्ने क्षमता कम नै छ,’ उनले भने, ‘खोप लगाए रोग प्रतिरोधात्मक क्षमता बढ्छ भनेर आएको तर लगाउन पाइएन ।’

मंगलबार अस्पताल पुगेका वडा नम्वर ६ का ७७ वर्षीय नरबहादुर गुरुङले पनि खोप लगाउन पाएनन् । खोप सकियो भन्दै फर्काइदिएको उनी बताउछन् । ‘आजसम्म खोप अभियान सञ्चालन गर्ने भनेका थिए, हिजो विदा भएर बन्द होला भनेर नआएको, आज आउँदा खोप छैन भन्नुभयो,’ उनले भने ।

गोरखा अस्पतालमा मात्र होइन अभियान सञ्चालन भएको जिल्लाका अधिकांश स्थानीय तहमा खोप अभाव देखिएको छ । ६५ वर्ष माथिका नागरिकलाई लक्षित गरी यही फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान सञ्चालन भएको हो । अभियान अन्तरगत फागुन २३ देखि २५ गतेसम्म गोरखा र पालुङटार नगरपालिका, शहिद लखन, अजिरकोट, गण्डकी र सिरानचोक गाउँपालिकामा र बाँकी स्थानीय तहमा फागुन २७ गते २९ गतेसम्म अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयले निर्णय गरेको थियो । तर खोप अभियान नसकिँदै खोपको डोज सकिएपछि अधिकांश जेष्ठ नागरिक खोपबाट वञ्चित भएका छन् ।

कार्यालयको सोमबारसम्मको तथ्यांक अनुसार ७ हजार ९४९ जनाले खोप लगाएका छन् । ६ स्थानीय तहका १० हजार ३५४ जनालाइ खोप लगाउने लक्ष्य कार्यालयको थियो । लक्ष्य अनुसार २ हजार ४०५ जनालाइ अझै खोप लगाउन बाँकी छ । तर कार्यालयसँग करिव सात सय डोज खोप मात्र बाँकी रहेको कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्री बताउँछन् । करिव १६ सय खोप अझै आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै बाँकी पाँच स्थानीय तहमा यही फागुन २७ गतेबाट अभियान सुरु गर्ने कार्यालयले निर्णय गरिसकेको छ । कुल ५ हजार ६२७ जनालाई खोप लगाउने लक्ष्य रहेपनि खोप अभाव हुने पक्का छ ।

‘दोस्रो अभियानमा जिल्लाभर कुल १५ हजार ९८१ जनालाइ खोप लगाउने लक्ष्य हो, तर हामीलाई १२ हजार डोज खोप मात्र आयो, एक हजार पहिलेको स्टक थियो, अझै करिव तीन हजार भन्दा बढी खोप आवश्यक छ,’ खत्रीले भने । खोप अभाव बारे प्रदेशदेखि केन्द्रसम्म जानकारी गराइसकिएको कार्यालयका निमित्त प्रमुख नरजङ्ग ठकुरीले बताए । ‘खोप अभाव भयो भनेर केही स्थानीय तहहरुले हिजै खवर गर्नुभएको थियो, हामीले प्रदेश र केन्द्रमा पनि जानकारी गराइसक्यौं तर केही निर्णय आएको छैन,’ उनले भने ।

शहीद लखनमा अभियान रोकियो

खोप अभाव भएपछि शहीद लखन गाउँपालिकामा अभियान रोकिएको छ ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएको खोप सकिएपछि अभियान रोकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।

‘हाम्रो पालिकामा कुल २५ सय जनालाइ खोप लगाउने लक्ष्य हो, तर १४ सय डोज मात्र आयो, आएको खोप सबै सकिएपछि अभियान रोकेका हौ,’ उनले भने । अभाव भएपछि खोप लगाउन आएका केही जेष्ठ नागरिकलाइ फिर्ता पठाउनु परेको उनले बताए । स्वास्थ्य कार्यालयलाई जानकारी गराउँदा थप खोप उपलब्ध गराउन नसक्ने बताएको उनले जानकारी गराए ।

अभियान सञ्चालन भएका अन्य स्थानीय तहमा पनि खोप अभावका कारण अभियान प्रभावित बनेको बताइएको छ । स्वास्थ्य कार्यालयका अनुसार शहिद लखन, सिरानचोक, गण्डकी र गोरखा नगरपालिकामा खोप अभाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment