Comments Add Comment

एपीएफ मेयर्स कपकाे फाइनलमा

२७ फागुन, काठमाडौं । विभागीय टाेली एपीएफ क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको लिग चरणको आफ्नाे अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेकाे हाे ।

अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १७८ रनको लक्ष्य एपीएफले ४४.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।

एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतक प्रहार गरे । शरदले अविजित६१ रन बनाए । सन्दिप ६२ रनमा अविजित रहे । यस्तै शंकर रानाले ३१ र भुवन कार्कीले ११ रन बनाए ।

काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८.५ ओभरमा अलआउट हुँदै १७८ रन बनाएको थियो ।

काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए । यस्तै हरिशंकर साहले ३६ र बिक्रम भुसालले २० रन जोडे ।

एपीएफका कमल सिंह ऐरी र अभपनास बोहराले ३/३ विकेट लिए । लिग चरणमा एपीएफले तेस्राे जित हात पार्दै ४ खेलबाट ६ अंक जोड्यो ।

पुलिसले पनि ४ मध्ये ३ खेलमा जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो । पुलिस नेट रन रेटको आधारमा अघि छ ।

एपीएफ फाइनल पुगेपछि आर्मी, बागमती र काठमाडौं लिगबाटै बाहिरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment