Comments Add Comment

सांकृतिक ग्राममा लेखक-पत्रकारको संगम

१ चैत, काठमाडौं । गैंडाकोट नगरपालिकाको हर्कपुरमा रहेको उन्नति कल्चरल भिलेज (सांस्कृतिक ग्राम) मा पहिलोपटक साहित्य उत्सव सम्पन्न भएको छ ।
चौधरी फाउन्डेसनले सञ्चालनमा सांस्कृतिक ग्राममा प्रकाशन गृह फाइनप्रिन्टले आयोजना गरेको दुईदिने ‘फाइनप्रिन्ट फिभर’ भएको थियो ।

शुक्रबार सुरु भएको फिभरको दोस्रो दिन शनिबार नेता गगन थापा, रवीन्द्र मिश्रदेखि अभिनेत्री मनीषा कोइरालासम्मले बहसमा आ-आफ्ना धारणा राखे ।

‘देशजगत्’ शीर्षकको सेसनमा लेखक एवम् उद्यमी जीवा लामिछानेसँग नेता गगन थापाले संवाद गरे । संवादमा उनीहरूले विदेशमा बसिरहेका नेपाली एवम् उनीहरूको अवस्था र गैरआवासीय नेपालीले नेपालमा गर्न खोजेका लगानी आदिका विषयमा चर्चा गरे ।

‘इन्द्रेणी’ शीर्षकको सत्रमा लेखक निरञ्जन कुँवरसँग प्रतीक्षा कट्टेलले संवाद गरिन् । यस सत्रमा नेपालमा क्वेरहरूले भोग्नुपरेका विभिन्न कठिनाइ एवम् जटिलताबारे चर्चा भयो । साथै शैक्षिक पाठ्यक्रममा यो विषयले प्राथमिकता नभएको विषयमा पनि वक्ताहरुले चर्चा गरे ।

यसैगरी अर्को सत्र ‘बाँच्ने अभिलाषा’मा अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले अन्तरसंवाद गरे । यो सत्रमा अभिनेत्री कोइरालाले क्यान्सर लागेपछि आफूले भोग्नुपरेका पीडा एवम् त्यसविरुद्ध जुध्न आफूले गर्नुपरेका संघर्षका कथा सुनाइन् ।

‘पुँजीवाद र स्वतन्त्र समाज’ सत्रमा मुराहरि पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गरिन् । यस सत्रमा दुवै वक्ताले नेपालमा स्वतन्त्रताको अवस्था एवम् पुँजीवादको अवस्था आदि विषयमा आधारित रहेर चर्चा गरे । साथै उनीहरुले विश्वका अन्य मुलुकमा भइरहेको अभ्यासबारे पनि अन्तर्संवाद गरे।

यता ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गरे । यो सत्रमा उनीहरुले नेपालमा भइरहेको राजनीतिक अवस्था र त्यसले जनजीवनमा पारेको प्रभावबारे अन्तर्संवाद गरे । उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ पुस्तक तीन जना युवालाई वितरण गरियो ।

‘रहरका रङ’ सत्रमा ‘रहर’ कथासंग्रहका लेखक सुरेश बडालसँग प्रकृति भट्टराई बस्नेतले संवाद गरिन् । यो सत्रमा लेखक बडालले आफ्नो लेखनयात्राका बारेमा छलफल त गरे नै, सँगै कथाकारिता र नवलेखकले भोगेका चुनौतीबारे संवाद भयो ।

संवादको अन्तिम सत्र थियो, ‘धमिराहरू’ । यो सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाए । उनीहरुले नेपालमा भ्रष्टाचारको अवस्था एवम् विविध विषयमा चर्चापरिचर्चा गरे । साथै देशको समृद्धिका लागि आर्थिक विषयमा गर्नुपर्ने कामबारे पनि उनीहरुबीच अन्तर्संवाद भयो । तर जबसम्म नेपालमा भ्रष्टाचार निर्मूल हुँदैन, तबसम्म समृद्धिको कल्पना गर्न नहुने उनीहरुले बताए ।

यसैगरी समापन प्रस्तुतिअन्तर्गत एक्टर स्टुडियोका कलाकारद्वारा नाटक ‘रेप मेसिन’ देखाइयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment