Comments Add Comment

भाषा समानताका कुरा

मेरो गाउँमा दुईवटा भाषा बोलिन्छन्- पहाडेहरूले बोल्ने नेपाली भाषा र थारुहरूले बोल्ने थारु भाषा । म थारु भाषा पुरै बुझ्छु तर त्यति राम्रो बोल्न सक्दिन । सानैदेखि थारु गाउँमा हुर्केकोले थारु भाषा मलाई आफ्नो मातृ भाषा नेपाली जत्तिकै प्यारो लाग्छ। थारु भाषासँग मेरो भावनात्मक सम्बन्ध छ। तर थारु भाषाको अहिलेको दयनीय स्थिति देख्दा मलाई पीडा हुन्छ । हुन त थारू भाषा र संस्कृतिको उत्थानमा धेरै संघ-संस्थाहरू सकृय छन् तर नेपाली भाषाको दबदबाले गर्दा थारू भाषाको मौलिकता जोगाउन दिनप्रतिदिन कठिन हुँदै गएको छ । ५०-६० वर्ष भन्दा माथि पुगेका थारूहरू बाहेक नयाँ पुस्ताको थारुहरू सबैले नेपाली बोल्ने र बुझ्ने भैसकेका छन्। म बस्ने नगरपालिकाले थारु भाषालाई त्यहाँको सरकारी कामकाजकोभाषा बनाउँदा मलाई हृदयदेखि नै खुशी लागेको थियो ।

म उच्च अध्ययनको लागि काठमाडौं पुगेपछि म नेवारी भाषाको सम्पर्कमा आएँ । स्कुलमा पढ्दा मेरा नेवार साथीहरू भए पनि उनीहरूलाई नेवारी बोल्न आउँदैन्थ्यो। त्यसैले काठमान्डौंमा नै मैले पहिलोपटक नेवारी बोलेको सुनेको थिएँ। पाटनतिर सामान किन्न जाँदा होस् या बल्खुबाट रत्नपार्कसम्म बसमा यात्र गर्दा होस् बसमा नेवारी बुढाबुढीहरूले नेवारीमा कुरा गरेको सुन्दामलाई सुन्दा रिस ऊठ्थ्यो। तर जब पछि-पछि नेवार साथीहरूसँग संगत हुन थाल्यो, मैले नेवारको संस्कृतिको बारेमा केही अधययन पनि गरें। त्यसपछि मलाई नेवारी भाषा र नेवारी संस्कृति निकै प्रिय लाग्न थाल्यो। नेवार संस्कृतिको सामान्य अध्ययनले मात्र पनि हाम्रो मौलिक संस्कृति त नेवारी नै रहेछ भन्ने मलाई भान भयो। त्यसपछि मैले आफूले नबुझे पनि नेवारी भाषा मन पराउन थालें। उनीहरू बोल्दा मलाई कसैले हाम्रो संस्कृतिको रक्षा गरिरहेको जस्तो भान हुन थाल्यो। तर थारू भाषा जस्तै नेवारी भाषाको अहिले जुन स्थिति छ त्यो पनि निकै दयनीय छ।

नेपाली बाहेक मलाई थारु भाषा र नेवारी भाषामात्र आत्मिय लाग्छ तिनको माया लाग्छ किनभने म ती दुई भाषाको मात्र सम्पर्कमा आएको थिएँ। नेपालमा बोलिने अन्य भाषाका मातृभाषीहरू र त्यो भाषासँग भावनात्मक सम्बन्ध भएकाहरू सबैलाई निसन्देह ती भाषाहरू निकै प्रिय लाग्छ होला । भाषा सानो होस् या ठूलो त्यसमा मानिसको भावनात्मक सम्बन्ध जोडिएको हुन्छ। त्यतिमात्र हैन नेपालमा बोलिने हरेक भाषाहरू नेपालका अमूल्य साँस्कृतिक पहिचानहरू हुन्। त्यसैले नेपालका हरेक भाषाहरू सुरक्षित हुनुपर्छ, ती सबैको विकास र उत्थान हुनुपर्छ। हरेक स्थानीय भाषालाई त्यो ठाउँको सरकारी कामकाजको भाषा बनाइनुपर्छ, हरेक नागरिकले आफ्नो मातृभाषामा कम्तिमा पनि आफ्नो प्राम्भिक शिक्षा हासिल गर्न पाउनुपर्छ। नेपालको संविधानमा भाषा अधिकारका केही कुराहरू निर्दिष्ट भए पनि त्यसलाई व्यवहारमा लागू गरेको पाइँदैन। नेपाली भाषाको दबदबा, सरकारी उदासीनता र मातृ भाषी आफैं पनि आफ्नो भाषा उत्थानको लागि गम्भीरताका साथ नलाग्दा हाम्रा मौलिक भाषाहरू कुनै दिन इतिहास बन्ने डर छ।

तर हामीले यो पनि बिर्सन हुँदैन कि नेपालको सरकारी कामकाजको भाषा नेपाली हो। नेपाली हाम्रो साझा भाषा हो, सबै नेपालीहरूको एकताको सुत्र हो। तर नेपाली भाषीहरूले अन्य भाषालाई शत्रुको रुपमा हैन आफ्नो सहयोगीको रुपमा हेर्नुपर्छ। नेपालका अन्य मौलिक भाषाहरूको विकास हुनु नेपाल र नेपाली भाषीहरूको लागि गर्वको कुरा हो। नेपालको वर्तमान परिप्रेक्ष्यमा मातृभाषाको रुपमा या द्वितिय भाषाको रुपमा नेपालका सबैजसो साक्षर जनताले नेपाली बोल्न र बुझ्न सक्छन्। अर्थात् निरक्षर र गैर नेपाली भाषी नेपालीहरूले मात्र नेपाली भाषा बुझ्न र बोल्न सक्दैनन् । त्यसरी आंकलन गर्दा नेपालमा कम्तिमा पनि ९०% मानिसहरू सजिलै नेपाली बोल्न र बुझ्न सक्छन् भन्ने अनुमान लगाउन सकिन्छ। तर नेपाली बोल्न र बुझ्न नस्कने १०% जति मानिसहरूलाई उनीहरूले नेपाली बोल्न नजानेकै आधारमा विभेद गरिनु हुँदैन, उनीहरू हेपिनु हुँदैन, उनीहरूलाई दुर्व्यवहार गरिनु हुँदैन भन्ने सबैलाई थाहा छ।

यदि नेपाली बाहेक अर्को भाषा बोलेकै भरमा कसैले कसैलाई हेप्छ, दुर्व्यवाहर गर्छ भने त्यसको विरोध हुनुपर्छ, सामान्य नागरिक होस् या सरकारी कर्मचारि होस् दोषीलाई कानुनी कारबाही हुनैपर्छ। अहिलेसम्म त्यसको लागि कुनै कानुन छैन भने त्यो कानुनको व्यवस्था हुनुपर्छ ता कि फेरि कसैले भिन्न भाषा बोलेको कारणले दुर्व्यवहारको सिकार बन्न नपरोस्। नेपाली बोल्नै नजान्ने मान्छेहरू सरकारी कार्यालयमा आएकाछन् भने उनीहरूलाई त्यो स्थानको स्थानिय भाषाको दोभासे राखेर सहयोग गर्नुपर्छ-जस्तो कि काठमाण्डौंका सरकारी कार्यालयहरूमा नेवारी दोभाषे र जनकपुरका सरकारी कार्यालयहरूमा भोजपुरी भाषाको दोभासे।

अहिले केही दिन देखि भाषाको समानताको कुरा लिएर काठमाडौंमा केही नागरिक अभियन्ताहरूले जुलुस निकालेर विरोध पनि गरेका छन्। उनीहरूको माग सबै भाषालाई समान व्यवहार गरिनुपर्छ भन्ने हो। कसैले नेवारी भाषा बोलेकै भरमा दुर्व्यवहार र अपमान भोग्नु पर्‍यो भन्ने उनीहरूको आरोप छ। त्यो माग नितान्त जायज छ। हाम्रो संविधानले भाषा समानताको व्यवस्था गरेकै छ। त्यसैलाई मियो बनाएर हामीले व्यक्तिगतरुपमा यासंस्थागत रुपमा आफ्नो मातृ भाषालाई जगेर्ना गर्न र त्यसको विकास गर्न सक्छौं, त्यसमा कसैले बाधा अड्चन गर्ने छैन। हरेक कुरामा आन्दोलन र विरोध गर्नुपर्छ भन्ने छैन। बरू आन्दोलन र विरोध गर्ने समय भाषा उत्थानको लागि दिन सके त्यसले भाषा उत्थानको लागि महत्वपूर्न भूमिका खेल्नेछ। आन्दोलनमा खेर फाल्ने समयमा भाषाको शब्दकोष बनाउने, ती भाषामा कथा, कविता सहित अन्य साहित्य लेख्ने, ती भाषाको इतिहासको अध्ययन गरेर त्यसका बारेमा लेख लेख्ने गरेमा त्यसले भाषालाई संमृद्ध बनाउँछ। भाषा समानताको बहानामा शुरु गरिएको अहिलेको विरोध अभियानमा भाषाको संरक्षण र उत्थानको लागिभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि प्रयोग गरिएको छनक देखिन्छ, नेपाली भाषीहरूप्रति घृणा फैलाउने उदेश्य देखिन्छ, जनतामा फुट ल्याउने चाहना देखिन्छ।मातृ भाषाको संरक्षणको मतलब आफ्नो भाषा बाहेक अरुको भाषालाई गाली गर्ने, भाषाको नाममा राजनीति गर्ने, भाषाकै आधारमा जनताहरू बीच फुट ल्याउन उद्दत कामलाईसबैले दुरुत्साहित गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment