Comments Add Comment

पाल्पाली चुकाउनीमा बढ्दो आकर्षण   

फाइल तस्वीर

३ चैत, तानसेन । पाल्पाको पहिचानको रुपमा विकसित हुँदै गएको चुकाउनीको प्रयोग बढ्न थालेको छ ।

बिस्तारै गर्मी बढ्दो क्रममा रहेकाले चुकाउनीको प्रयोग बढ्न थालेको हो । आलु र दहीको मिश्रणबाट बन्ने चुकाउनी एक प्रकारको स्वादिलो अचार हो । शहरका कतिपय भोजनालयमा पनि तपाईंले यो परिकार पाउनुहुनेछ । तर, पाल्पाको रैथाने स्वादले हाम्रो जिब्रो लोभ्याउँछ । एक पटक चाखेपछि मन अघाउँदैन ।

चुकाउनी के हो ?    

चुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनी मात्र खाए पनि हुन्छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना, धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने चुकाउनी धेरैले रुचाइएको खानामध्येको एक प्रमुख परिकार हो । यो अचार स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । स्वादिलो र स्वस्थ्यकर भएकाले नै चुकाउनी पाल्पामा मात्र सीमित रहेन । शहरका भोजनालयले पनि आफ्नो मेनुमा यसलाई समेटिन थालेको छ । नेपाल बाहिर अर्थात विदेशी भान्सामा समेत अहिले चुकाउनी परिकार पाउन थालिएको पारखीहरु बताउँछन् ।

यतिबेला पाल्पाका धेरैजसो ठाउँमा आलु खनेर कृषकले थन्काएका छन् । जिल्लाकै बढी आलु उत्पादन हुने आलु पकेट क्षेत्रका रुपमा पहिचान बनाएको रामपुरमा यस वर्ष चार हजार टन आलु उत्पादन भएको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष दोब्बर आलु उत्पादन भएको छ । आलुबाट बन्ने विभिन्न परिकारमध्ये चुकाउनीको प्रयोग बढाइएको स्थानीयवासी बताउँछन् ।

कसरी बनाउने चुकाउनी ?    

चुकाउनी बनाउन धेरै समय लाग्दैन, न त श्रम नै । हाम्रो भान्सामा दैनिक उपलब्ध हुने सामग्रीबाट सहजै चुकाउनी बनाउन सकिन्छ । एक पटक देखेपछि जो कोहीले आफ्नै हातले चुकाउनी बनाउन सक्छन् । आलुलाई धेरै नगल्ने ढङ्गले उसिन्नुपर्छ । त्यसलाई स–सना टुक्रामा काट्ने । यसरी टुक्रा बनाएको आलुमा नुन राख्ने । काटेर टुक्रा बनाएको प्याज मिसाउने र त्यसपछि यसमा छोप लगाउनुपर्छ । छोपको लागि सिलाम वा तील पिँधेर उक्त आलुमा मिसाउनुपर्छ । तोरीको तेल तताउने र त्यसपछि त्यसमा केही मेथी फुराउने र आलुको माथिबाट राख्ने । त्यसैगरी रातो खुर्सानी र बेसार झानेर आलुमा खन्याउने ।

आलुमा ती सबै कुरालाई मजाले घोलेर दही मिसाइदिने । त्यसमाथि ताजा कागतीको रस चुहाउने । धनियाँको पातलाई माथिबाट छर्किने । यसरी चुकौनी तयार हुन्छ । यसलाई तपाईं आफ्नो मर्जी अनुसार भात, रोटी आदिसँग खान सक्नुहुने रामपुरका हुमा देवकोटाले जानकारी दिइन् ।

पाल्पाका रैथाने नेवार समुदायको संस्कृतिबाट आएको खाना अहिले पाल्पाली खानाका रुपमा परिचित भएको जानकारहरुको भनाइ छ । नेवार समुदायले विवाह, व्रतबन्ध, पूजाआराधनालगायत शुभकार्य, धार्मिक कार्यमा अनिवार्य जस्तै प्रयोग गर्ने चुकाउनी स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण मानिने लेखक निर्मल श्रेष्ठले बताए । ‘सजिलै पाइने र सरल तरिकाबाट बनाउन सकिने भएकाले यसको प्रयोग सबैले गर्न थालेको छ,’ उनले भने, ‘पहिले सदरमुकाम तानसेनमा बस्ने रैथाने नेवार समुदायले चाडपर्व र शुभकार्यका बेला अनिवार्य तयार पारिने चुकाउनी आजभोलि सबैले मन पराएका छन् ।’

जाडोमा केही कम बिक्री भए पनि गर्मीमा चुकाउनी सबैले खोज्ने गरेको होटेल व्यवसायीहरुको भनाइ छ । विशेषगरी पाल्पाको केराबारी तथा राम्दी क्षेत्रका होटेल व्यवसायीले चुकाउनीको व्यापार गर्दै आएको पाइन्छ । राम्दीको होटेलमा आउने अधिकांश ग्राहकले चुकाउनी खाने इच्छा राख्ने गरेको अमात्य रेष्टुरेन्टका सञ्चालक नन्दकिशोर अमात्यले बताए । उनले करीब २३ वर्षअघि देखि चुकाउनीको व्यापार गर्दै आएका छन् । राम्दी स्याङ्जा, पोखरा, चितवनतर्फ जाने सडक भएकाले अन्य जिल्लाका नागरिकले चुकाउनी चाख्छन् र मन पराउँछन् अनि यसको पहिचानलाई अन्यत्र फैलाउँछन् भन्ने उनको अनुभव छ । देशका अन्य भागमा नपाइने चुकाउनी पाल्पामा मात्र बेच्न पाएकामा व्यापारी नै गर्व महसुस गर्छन् ।

पाल्पाको राम्दीमा चुकाउनी पाइन्छ भन्ने थाहा पाएकाहरु चुकाउनी खानकै लागि त्यहाँ पुग्ने गरेको व्यवसायीको भनाइ छ । पाल्पाली ढाका, करुवालगायत विभिन्न पहिचान दिने वस्तुसँगै पाल्पाली खानाका रुपमा चुकाउनीको पहिचानसमेत छुट्टै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment