Comments Add Comment

चैत ५ को जसपा बैठकले सत्ता समीकरण टुंगो लगाउँछ : वर्षमान पुन

३ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले जनता समाजवादी पार्टीको चैत ५ मा बस्ने बैठकपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन् ।

मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरणले मूर्त रुप पाउने बताएका हुन् । ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रुप पाउँछ’ पुनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका तीनवटा दलबीचको गठबन्धनमा सरकार बन्ने पनि उनको दावी छ ।

‘हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो’ पुनले भने ।

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए । उनले सरकारलाई दिएको समर्थन हतारमा फिर्ता लिने पक्षमा आफूहरु नभएको बताए ।

‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ । हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजीनामा दिनुस् । किनभने तपाईंले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ । ध्यानाकर्षण गराएका छौँ । हतारमा अहिले हामी समर्थन फिर्ताको निर्णयमा छैनौं’ पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment