Comments Add Comment

फलफूललाई घरमा कति दिनसम्म भण्डारण गर्न सकिन्छ ?

काठमाडौं । फलफूल स्वास्थ्यको लागि अत्यावश्यक खानेकुरा हो । फलफूलहरुमा पाइने पौष्टिक तथा औषधीय महत्वका कारण नियमित यसको उपभोग स्वास्थ्यको लागि अनिवार्य मानिन्छ । फलफूलले शरीरको अनावश्यक तौल र खराब कोलेस्टोरोललाई घटाउन मद्दत पुर्‍याउँछ र स्वस्थ जीवन प्रदान गर्छ । यसका साथै भिटामिन (विशेष गरी भिटामिन सि, भिटामिन ए) थायमिन (भिटामिन बी १), फोलेट (भिटामिन बी ९), पोटास आदिको मुख्य स्रोत पनि फलफूल भएकोले यसको यसको महत्व बढेको हो । तर यस्तो फलफूललाई कति दिनसम्म भण्डारण गर्न सकिन्छ त ? एकैपटक धेरै फलफूल ल्याएर लामो समयसम्म राख्नु उपयुक्त हुन्छ त ?

विभिन्न फलफूलको छुट्टाछुट्टै महत्व हुने गर्छ । जस्तो सुन्तलामा पाइने यस्ता पौष्टिक पदार्थहरुले एकातिर मानव शरीरको मुटु, मिर्गौला जस्ता अंगलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ भने अर्कोतर्फ नेपालमा विकराल रुपमा देखिएका उच्च रक्तचाप, रक्तअल्पता, मिर्गौलाको पत्थरी, आन्द्राको क्यान्सर, हाडजोर्नी दुख्ने, स्नायुप्रणाली सम्बन्धी समस्याको समाधानको लागि पनि नियमित फल खानु उपयुक्त हुने चिकित्सकहरू बताउँछन् ।

डा. शान्ता कार्की

राष्ट्रिय फलफूल विकास केन्द्रमा कार्यरत डा. शान्ता कार्की हाल काठमाडौं लगायत विभिन्न ठाउँमा पाइने बेमौसमी तरकारी एवं फलफूलहरू मौसममा उत्पादन गरेर भण्डारण गरी बेमौसममा बेच्ने र बेमौसममा तापक्रम मिलाएर अहिले नै फलाउने पनि गरिएको बताउँछिन् । यद्यपि फिलिपिन्स जस्ता केही देशमा भने सधैंभरि उही तापक्रम हुने भएकोले त्यहाँ हरेक फलफूल मौसमी हुने बताउँछिन् ।

कार्कीका अनुसार फलफूलको गुण अनुसार भण्डारणको समय भिन्दाभिन्दै हुने गर्छ । जस्तो नपाक्दै टिप्ने र त्यो पनि जाडो मौसममा टिप्ने गरिएकोले किबीलाई अरु फलफूलको तुलनामा धेरै समय भण्डारण गरेर राख्न सकिन्छ । तर केरालाई तुलनात्मक रूपमा कम समय भण्डारण गर्न सकिन्छ । तर यी सबै तापमान सन्तुलित गरेर राख्ने भण्डारण गृहहरूमा मात्रै लामो समयसम्म भण्डारण गर्न सकिन्छ । सामान्यतया घरमा ल्याइएका तरकारीलाई भने तरकारीको प्रकृति अनुसार एक महिनाभन्दा धेरै राख्नु हुँदैन । सामान्यतया एक हप्ताभित्रमा खपत गरिसक्नु उपयुक्त हुने बताइन्छ ।

७/८ डिग्रीको सन्तुलन मिलाएर राख्ने हो भने किबीलाई टिपेको ६ महिनासम्म भण्डारण गर्न सकिने उनी बताउँछिन् । यसलाई भण्डारण गर्नको लागि आद्रता ९० प्रतिशतभन्दा माथि राख्नुपर्छ । साथै भण्डारणको ठाउँमा ढुसीजन्य सामग्रीहरू नहुने एवं सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

त्यस्तै, मौसम, सुन्तला, जुनार जस्ता सुन्तला जातका फलफूललाई सात÷आठ डिग्रीमा सन्तुलित गराएर राख्ने र आद्रता ९० प्रतिशतभन्दा माथि राख्ने हो भने यसलाई पनि ४ देखि ५ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

यसबाहेक स्याउलाई चार/पाँच डिग्रीमा सन्तुलन मिलाएर राख्न सकिन्छ । केरालाई १२/१३ डिग्रीमा सन्तुलन मिलाएर राख्दा एक महिनासम्म भण्डारण गर्न सकिन्छ ।

पौष्टिकतामा कति ह्रास आउँछ भण्डारण गरेको फलफूलमा ?

तरकारीमा पाइने पौष्टिक तत्व शरीरको रक्तसञ्चार प्रणालीलाई स्वच्छ राख्न पनि सहयोगी हुन्छ । यसका अलावा सुन्तला जातका फलफूलमा प्रशस्त मात्रामा क्यारोटिन्वोइड्स, फिनोलिक्स जस्ता एन्टिअक्सिडेन्टहरु पाइन्छ । जसले शरीरको हानिकारक विकार हटाउन मद्धत पुर्‍याउँछ ।
तर के भण्डारण गरेका फलफूलले पनि स्वास्थ्यमा यस्तै फाइदा पुर्‍याउँछ त ?

कार्की ताजा तरकारी जस्तो भण्डारण गरिएको तरकारी जस्तै फाइदाजनक नभए भए पनि यसमा पौष्टिकता नष्ट हुन्छ भन्ने नरहेको बताउँछिन् । यद्यपि नेपालमा भण्डारित फलफूलको उपयोगिता कति हुन्छ ? भन्ने विषयमा अध्ययन भएको जानकारी नआउकोले स्पष्ट बताउन सक्ने अवस्था नरहेको उनी बताउँछिन् । यद्यपि राम्रोसँग तापक्रम र आद्रता मिलाउँदा तोकिएको मितिसम्म भने यसका बनोट र स्वादमा फरक नआउने उनले स्पष्ट बताइन् ।

तर अमेरिकामा भएको एउटा अध्ययनले भने लामो समयसम्म भण्डारण गरिएको फलफूलमा फेनोलिक एसिड बढाउने, फेनोलिक्स, एथोसायनिन्स र भिटामिन सीको मात्रा घट्ने एवं एन्टिअक्सिडेन्ट क्षमतामा समेत नोक्सानी हुने गरेको देखाएको छ । अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानमा प्रकाशित एक अध्ययन अनुसार माथि उल्लेखित पौष्टिक तत्वहरूमा ह्रास आउने देखाएको छ ।

सामान्यतया घरमा कतिदिन राख्न सकिन्छ फलफूल ?

सामान्यतया घरमा ल्याएको फलफूललाई एक हप्ताभन्दा धेरै राख्नुहुन्न भन्नेमान्यता राखिन्छ । घरमा ल्याएको फलफूललाई आवश्यक पर्ने तापक्रम मिलाएर राख्न समस्या हुने भएकोले यसलाई सकेसम्म छिटै र नभए पनि एकहप्ताभित्र फलफूल उभोग गरिसक्नुपर्ने बताइन्छ । पाकेको कुनै पनि फललाई तापक्रमको वास्ता नगरी घरमा सामान्य फ्रिजमा राख्न सकिने समय तल उल्लेख गरिएको छ ।

स्याउ – ३ देखि ४ हप्तासम्म
खुर्पानी – ४–५ दिन
एभोकाडो – ३ देखि ५ दिनसम्म
ब्लुबेरी – एकदेखि दुई हप्तासम्म
आँप – ५ देखि ७ दिनसम्म
किवी – ५ देखि ७ दिनसम्म
सुन्तला – २ देखि ३ हप्तासम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment