Comments Add Comment

उपमहानगरकै गाउँमा कक्षा ५ मै रोकिन्छ विद्यार्थीको पढाइ

प्रतीकात्मक तस्वीर

४ चैत, हेटौंडा । डेढ घण्टा भत्किएको बाटो र बगर पार गरेपछि पुग्न सकिने अग्लो डाँडा । वरिपरि घना जंगल । जंगलको बीचमा वर्षौं पहिले बनेको काठको थोत्रो घर । काठले बारेको उक्त घरभित्रबाट बाहिरको दृश्य छर्लङ्गै देखिन्न सकिन्थ्यो । बारको काठ बीचको दूरी फराकिलो भएका कारण झ्याल-ढोका नै चाहिँदैन थ्यो । घाम तथा हावा सहजै कोठाभित्र पस्थ्यो । घरदेखि ठ्याक्कै दाहिनेपट्टि पुरानो कुच्चिएको गाग्रो थियो । गाग्रोबाट पानी सारेर पानी पिउँदै थिइन् एउटी सानी बालिका । कोठाबाट आवाज आइरहेको थियो-‘हाम्रो नेपाल, राम्रो नेपाल ।’

यो दृश्य हो बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका-१६ स्थित श्री आकाशधारा पानीसारा प्राथमिक विद्यालयको । गाँउभरिका ९७ जना अध्ययन गर्ने सो विद्यालयमा मंगलबार मुस्किलले २०/२२ जना मात्रै आएका थिए । गाँउको एक परिवारको घरमा पूजा भएकोले बाँकी विद्यार्थी त्यत्तै गएका थिए ।

विसं २०५० सालमा बनेको उक्त विद्यालयका तीन वटा भवन छन् । ईसीडी र कक्षा १ का बालबालिका सिमेन्टले बनाइएको भवनमा पढ्छन् । तर कक्षा २ देखी ५ सम्मका विद्यार्थी भने ०५० सालमा बनेको काठकै भवनमा अध्ययन गर्छन् । काठले बनाइएको भवनमा ३ कोठा छन् । एउटा कोठामा कक्षा ४ र अर्को कोठामा कक्षा ५ का विद्यार्थी पढ्छन् भने अर्को एउटा सानो कक्षाकोठामा कक्षा २ र ३ का विद्यार्थीसँगै बसेर पढ्छन् । कक्षा २ लाई पढाउँदा ३ कक्षाको विद्यार्थी अर्कै गृहकार्य गर्छन् भने कक्षा ३ लाई पढाउँदा कक्षा २ का विद्यार्थी आफ्नो छुट्टै गृहकार्य गर्छन् ।

बारको चेपबाट कक्षा कोठाभित्र  घाम पस्ने भएकोले विद्यार्थीहरु कापीले अनुहारमा घाम नपरोस् भनेर छेकेर अध्ययन गरिरहेको दृश्य देखिन्थ्यो । कोही विद्यार्थी ड्रेसमा थिए भने केही आउटड्रेसमा । ५ कक्षासम्म अध्ययन हुने उक्त विद्यालयमा शिक्षक भने ३ जना मात्रै थिए ।  प्रधानाध्यापक प्रशासनिक कामले धेरै जसो विद्यालय बाहिर नै हुने भएका कारण दुई जना शिक्षकको भरमा विद्यालय सञ्चालनमा छ । दुईजना मध्ये एकजना शिक्षक बिरामी पर्दा एकजनाले मात्रै पुरै विद्यालय सम्हाल्ने गरेको विद्यालयका शिक्षक प्रेमबहादुर विक बताउँछन् ।

विद्यालयमा अध्ययनरत १३ वर्षीया अनिशा योञ्जन कक्षा पाँचमा पढ्छिन् । ढिला गरेर विद्यालय भर्ना भएकी योञ्जन पाँच कक्षापछि पढाइलाई निरन्तरता दिने विषयमा अन्यौल छिन् । पाँच कक्षा पछि थप पढाइका लागि अन्यन्त्रै जानुपर्ने यहाँ अध्ययनरत विद्यार्थीको छ । थप अध्ययनका लागि ५ घण्टा जंगल र खोलाको बाटो हिँडेर हेटौंडा-१६ हटियास्थित जनप्रिय माविमा हिँडेर आउनु पर्ने बाध्यता रहेको उनले बताइन् । यहाँका विद्यार्थीहरु थप अध्ययनका लागि बारा जिल्ला जानुपर्ने बाध्यता भएको उनी बताउँछिन् । जसले गर्दा गाउँका अधिकांशको पढाइ कक्षा ५ मा नै रोकिने गरेको योञ्जनले बताइन् । त्यसैले आफूले पनि कक्षा ६ अध्ययन गर्न नपाउने चिन्ताले सताउन थालेको बताउँछिन् । घरको कमजोर आर्थिक अवस्थामा बाहिर गएर पढ्न नसकिने हुँदा अरुको जस्तै आफ्नो पनि ५ कक्षाबाटै पढाइमा ब्रेक लगाउनु पर्ने बाध्यता रहेको उनले गुनासो गरिन् । विद्यालय आउँदा/जाँदा एक्लै हिँड्नुपर्दा डर त्रासले मन सधैं भारी हुने गरेको उनले बताइन् ।

घना जंगल र पातलो बस्ती भएकोले उनलाई विद्यालय आउँदा एक्लै हिड्नु परे डर लाग्छ । ‘मलाई घरबाट विद्यालयसम्म आउनै डर लाग्छ,’ आखाँभरी आँसु बनाएर उनले भनिन्, ‘मलाई कसैले बलात्कार गरेर मार्छ कि भन्ने डर लाग्छ । घरबाट विद्यालय आउने बाटो निकै सुनसान् छ । साथीहरु हुँदा त डर लाग्दैन तर कहिलेकाँही एक्लै हुँदा निकै डर लाग्छ ।’ सोही विद्यालयमा अध्ययन गर्ने सुस्मा घलान पनि अझै पढ्न चाहान्छिन् । उनको पढाइ पनि राम्रो छ । उनलाई पनि थप पढ्न समस्या नै छ । उनको परिवारमा माइला दाइले नै सबैभन्दा धेरै पढेका छन् । उनको माइला दाइले कक्षा ६ सम्म मात्रै पढेका छन् । त्यसैले पनि उनलाई धेरै पढ्न मन छ । माइला दाइको भन्दा धेरै । तर उनी ५ कक्षाभन्दा माथि पढ्न न त दैनिक ५ घण्टा हिँडेर हटिया पुग्न सक्छिन् न त बारा जिल्ला । उनलाई एसएसलीभन्दा माथि अरुपनि पढाइ हुन्छ भन्ने नै थाहा छैन । उनलाई धेरै पढ्न मन छ । पढेर उनी आत्मनिर्भर बन्न चाहन्छन् । तर उनको यो सपना सपनामै सीमित हुने होकी भन्ने डर छ । कक्षा पाँचसम्म मुस्किलले पढाइ हुने उक्त क्षेत्रका विद्यार्थीहरुलाई त्यस पछिको पढाइका लागि भने अर्को जिल्ला जानु पर्ने बाध्यता रहेको विद्यालयका शिक्षक विकले बताए ।

पाँच कक्षा पछि विद्यार्थीहरुलाई थप पढाइका लागि हेटौंडा-१६ हटियास्थित जनप्रिय माविमा पाँच घण्टा हिँड्नुपर्ने उनले बताए । यसको विकल्पमा बारा जिल्ला स्थित निजगढमा पुग्नु पर्ने विकले जानकारी दिए । ‘यस क्षेत्रमा कक्षा पाँचसम्म पढाइ सकेपछि बाँकी पढ्न कि त हटिया जानु पर्छ कि निजगढ,’ शिक्षिक विकले भने, ‘हटियासम्म पुग्न पनि चार घण्टा हिँड्नु पर्छ । त्यहाँसम्म पुगेर पढाइ गर्न यहाँका बालबालिकाहरुलाई समस्या नै छ।  यहाँका बालबालिबाहरुलाई माथिल्लो कक्षा पढ्नका लागि ठूलो समस्या छ ।’ आर्थिक अवस्था कमजोर भएका अभिभावक भएका कारण पनि आफ्ना बालबालिकालाई माथिल्लो कक्षा पढाउन बाहिर नपठाउन उनले बताए ।

शिक्षकको अनुसार सो क्षेत्रमा बाल विवाह पनि अधिक हुने गरेको छ । भौगोलिक विकटता र नजिकै अर्को विद्यालय नहुँदा पाँच कक्षा पढिसकेपछि विवाह गरिदिने प्रचलन बढी रहेको शिक्षक विकको भनाइ छ । विद्यार्थीहरुलाई अध्यापन गराउन पनि समस्या रहेको उनले बताए । उनले बहुकक्षा प्रणालीअनुसार कक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताए । विकले भने ,‘एउटै कोठामा दुई वटा कक्षा सञ्चालन भइरहेको छ । सँगै एउटै समयमा अर्को कक्षामा पनि पुगेर पढाउनु पर्ने बाध्यता रहेको छ ।’ शिक्षकबाट पाउनु पर्ने समय विद्यार्थीहरुले नपाउँदा शिक्षण सिकाइको गुणस्तरमा कमी आएको उनले बताए ।

जनप्रतिनिधिहरु आएपछि भने उक्त विद्यालयमा केही सहज भएको शिक्षक विकले बताए । विद्यालयसम्म बाटो पुगेको छ । जनप्रतिनिधिहरुले विद्यालयसम्म पुगेर समस्या सुन्ने र समाधानको प्रयास गर्ने गरेको उनले बताए । विद्यालयमा जनप्रतिनिधि पनि अनुगमन पुग्ने गरेको भन्दै उनले यसले पढाइमा पनि सुधार आएको उनले बताए ।

हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले दरबन्दी मिलानको समस्या भएको बताए । विद्यार्थीहरुको संख्या कम भएकोले १० कक्षासम्म पुर्‍याउन पनि समस्या भएको भन्दै उनले त्यहाँ नजिकको अर्को प्राथमिक विद्यालयलाई भने क्रमशः स्तरवृद्धि गर्ने पहल भइरहेको बताए ।

(श्रृजना नेपालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment