Comments Add Comment

पारिवारिक रिसइबीका कारण बालकको हत्या

हत्यामा संलग्नको आरोपमा ३ जना पक्राउ

४ चैत, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ का १४ वर्षीय बालक साहिद हुसेन अन्सारीको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् ।

फागुन ११ गतेदेखि नै हराएका बालकको शव फागुन २८ गते जितपुर सिमरा–१० बेहरामा उद्योगको फोहोर फाल्ने डम्पिङ साइटमा भेटिएको थियो । शव भेटिएको ५ दिनपछि प्रहरीले बालकको योजनाबद्ध रुपमा हत्या भएको दावी गरेको छ ।

प्रहरीले जीतपुरसिमरा–२३ भलुही टोलका २५ वर्षीय कियामुद्दिन मन्सुरी, २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम, १९ वर्षीय आबेदिन मियाँ अन्सारीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

उनीहरु तीन जनाले योजनाबद्ध रुपमा बालक अन्सारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए । प्रहरीले उनीहरुविरुद्ध ज्यान सम्बन्धी मुद्धामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

प्रहरीका अनुसार साहिद हराएको अघिल्लो दिन नै अभियुक्तले हत्याको योजना बनाएका थिए र फागुन ११ गते नै उनको हत्या भएको थियो । साहिद र पक्राउ परेका ३ जना सँगै लागूऔषध सेवन गर्ने साथी भएको पनि प्रहरीले बताएको छ ।

पारिवारिक र जग्गा जमिनसम्बन्धी विवादको रिसइबी, लागु पदार्थका कारण आपसी विवाद, प्रेम सम्बन्ध तथा आर्थिक लाभका लागिसमेत हत्या भएको देखिएको एसपी शाहीले जानकारी दिए ।

‘लागुपदार्थ दुव्र्यसनी हुन् । अलिकति पुरानो प्रेम सम्बन्ध, पारिवारिक रिसइबी र लागुपदार्थका कारण झगडा एकैपटक भएको देखिन्छ । उनीहरुले फकाएर लगेर हत्या गरिहालेछन् । हत्यापछि लुकाउने भरसक प्रयास गरेको पनि देखिन्छ’ शाहीले भने ।

कसरी भयो हत्या ?

प्रहरीका अनुसार अभियुक्त अफसानले ‘गाँजा खान जाऊँ’ भनी साहिदलाई घटनास्थल बेहरा लगेका थिए । आबेदिन र कियामुद्दिन पहिलेदेखि नै त्यहाँ थिए । उनीहरुले साहिदलाई डोरीले बाँकेर ढुंगाले टाउकोमा हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीको दावी छ ।

मृत्युपछि घिसार्दै नजिकै फोहोर थुपारिएको खाडलमा फालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले बताए ।

‘अभियुक्तले घटना घटाएको स्वीकार गरेका छन् । उनीहरुले प्रयोग गरेको दाप पनि बरामद गरिसकेका छौं’ डीएसपी मिश्रले भने ‘पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । थप अनुसन्धान जारी नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment