Comments Add Comment

शान्त मनः सक्रिय जीवन

मनको स्वभाव

मानिसको चैतन्य शक्ति हो, मन । मन कुनै भौतिक तत्वद्वारा निर्माण भएको वस्तु होइन । मनको स्वस्थ, सबल र सकारात्मक विचारले संसारको कायाकल्पमै सुखद परिवर्तन ल्याउन सक्दछ भने मनमा उत्पन्न हुने अस्वस्थ, प्रदूषित र नकारात्मक विचारले संसारलाई दुःखद र अशान्तिको स्थल पनि बनाइदिन सक्छ ।

आज विश्वमा जति पनि नवीन खोज, आविष्कार र भौतिक प्रगति भएका छन्, ती सबै मानव मनकै उपज र अभिव्यक्ति हुन् । यसबाट के स्पष्ट हुन्छ भने मानव मन यदि कुनै कुरामा उत्साह, उमंग र  एकाग्र भएर लाग्ने हो भने उसले चामत्कारिक उपलब्धि हासिल गर्न सक्तछ । यद्यपि मानव मन त्यत्तिकै चुप लागेर बस्ने स्वभावको हुँदैन । मनमा हरपल, हरक्षण कुनै न कुनै विचार वा संकल्प चलिनै रहेको हुन्छ । मनमा उत्पन्न हुने यस्ता संकल्प र विचारहरू विशेषगरी दुई प्रकारका हुने गर्दछन्- चिन्तनशील र चिन्ताग्रस्त ।

मनमा यदि चिन्ताग्रस्त विचार मात्र बारम्बार उठिरहन्छ भने हामी मानसिक रूपमा तनावग्रस्त बन्न पुग्दछौं र यसले हाम्रो शरीरलाई पनि कमजोर र रोगग्रस्त तुल्याइदिन्छ । तर मनमा यदि चिन्तनशील विचार उत्पन्न भइरहने हो भने यसले हाम्रो जीवनलाई समस्याको भुमरीबाट समाधानको दिशातर्फ उन्मुख र समृद्धिको बाटोतर्फ अग्रसर गराउँछ ।

मन र तनबीचको अन्तरसम्बन्ध

मन र तनबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । मनोचिकित्सकहरूको भनाइ अनुसार मनमा उत्पन्न हुने खुशी, आनन्द र हर्षले हाम्रो अन्तःस्रावित प्रणालीमा इन्डोरफिन  जस्ता हार्मोन्सहरू पैदा गरिदिन्छ जसले गर्दा मानव शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्न जान्छ र अनेक प्रकारका विषालु तत्व तथा रोगका भाइरसहरूले शरीरलाई कुनै हानि गर्न, नोक्सान पु¥याउन सक्दैन ।

राजेशमान के.सी.

तर मानिस जब चिन्ता, आवेग र तनावपूर्ण मनस्थितिबाट ग्रसित हुन्छ उसको शरीरको अन्तःस्रावित प्रणालीले कार्टिको स्टेर्वाइड  नामक हार्मोन्स पैदा गर्दछ । यसबाट हाम्रो शरीरमा यूरिक एसिड, पेटमा घाउ अथवा अल्सर, कोलेस्टोरल आदि तत्वहरू उत्पन्न हुन्छन् र शरीर रोगको घर बन्न पुग्दछ । तसर्थ शरीरलाई निरोगी राख्ने अथवा रोगको घर बनाउने यो सबै बाह्य परिस्थिति भन्दा हाम्रो आन्तरिक मनस्थितिमाथि नै बढी निर्भर रहने गर्दछ ।

आज विश्वमा जति पनि अशान्ति, द्वन्द्व, हत्या, हिंसा, प्रदूषण आदि घटना हामी देख्छौं, सुन्छौं त्यसको बीजाङ्कुरण पनि कुनै न कुनै रूपमा मानव मनमा नै भएको हो । इर्ष्या, द्वेष, घृणा, क्रोध, वैमनस्यलगायत अनेकन् स्वार्थजन्य सोचाइ र भावनाले मानव मनलाई गाँजिरहेको, पिरोलिरहेको हुन्छ । यस्तो मानसिक अवस्थामा न मन शान्तमय हुन्छ न त आनन्दमय र सुखमय जीवनको नै परिकल्पना गर्न सकिन्छ ।

बरु यस्तो अशान्त, असन्तुलित र तनावग्रस्त मन आफंैमा एक जटिल समस्या बन्न पुग्दछ । किनकि हाम्रो मनको सोचाइ, विचार वा दृष्टिकोणले नै हामीलाई उन्नति अथवा अवनतिको मार्गतर्फ धकेल्ने गर्दछ । तसर्थ जुनसुकै प्रकारका समस्याको सर्जक मानव मनको सोच र चिन्तन नै भएको हुँदा यसको समाधान पनि हामीले मानव मनको विचार वा भावनामै खोज्नुपर्दछ र त्यसमा सुधार अथवा परिवर्तन ल्याउने प्रयत्न गर्नुपर्दछ ।

आध्यात्मिक ज्ञान र योग

वास्तवमा हाम्रो मन यति चञ्चल र अस्थिर भइरहन्छ कि यसलाई शान्त र सन्तुलित राख्ने काम त्यति सहज र सजिलो पक्कै पनि छैन । तर यदि हामीले निरन्तर अभ्यास र साधना गर्ने हो भने यो असम्भव कुरा पनि होइन । त्यो साधना हो-आध्यात्मिक ज्ञान र योगको । आध्यात्मिक ज्ञान र योगको साधना नियमित रूपमा गर्नाले र दैनिक जीवनमा यसको व्यावहारिक प्रयोग गर्नाले मानव मन स्वच्छ, सबल र शक्तिशाली बन्दै जान्छ ।

अर्को कुरा आध्यात्मिक ज्ञान र योगको साधना गर्नु भनेको मनलाई दबाउनु अथवा दमन गर्नु होइन । बरु यस्तो अभ्यास र साधनाबाट मनलाई ‘सुमन’ गर्ने अथवा ‘सुमार्ग’तर्फ लैजाने जस्ता व्यावहारिक पद्धतिको अवलम्बन गरिन्छ ।

त्यति मात्र नभएर आध्यात्मिक साधनाबाट मनभित्रको अथाह क्षमता र सम्भाव्यतालाई पनि सकारात्मक रूपमा उत्सर्जित गर्न सकिन्छ र आफ्नो कर्म क्षेत्रमा अग्रसर रहन सकिन्छ । जसले गर्दा मानव मनको अन्तरचेतनामा रहेको गुण र क्षमता पनि प्रस्फुटित हुन थाल्दछ र हामी पूर्ण सक्रियताका साथ प्रगतिको बाटोमा अगाडि बढ्न सक्दछौं ।

अध्यात्म र स्व-परिवर्तन

आध्यात्मिक ज्ञानको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसले अरूलाई बदल्ने प्रयास अथवा परिश्रम गर्नुको साटो स्वयंलाई रूपान्तरित अथवा परिवर्तन गर्न अभिप्रेरित गर्दछ । जसबाट मानिस निहित स्वार्थको त्याग गरी सर्वहित कल्याण र सेवाको लागि अभिप्रेरित हुन, समर्पित बन्न पुग्दछ ।

आध्यात्मिक ज्ञानले मानिसको बाह्य सुधार र शृंगार भन्दा पनि अन्तरहृदयको शुद्धता र सशक्तीकरणलाई महत्व दिने गर्दछ । त्यसैले आध्यात्मिक साधना र योगको अभ्यासद्वारा मनलाई शान्त र सन्तुलित अनि शरीरलाई स्वस्थ र सक्रिय तुल्याई उन्नतिको बाटोतर्फ अग्रसर हुन सकिन्छ ।

आध्यात्मिक ज्ञानले मानिसलाई भौतिक प्रगति नै गर्नुहुँदैन अथवा आध्यात्मिक ज्ञानले मानिसलाई दीन, हीन र भिखारी नै बन्नुपर्दछ भन्दैन र भनेको छैन । बरु आध्यात्मिक ज्ञानले हामीलाई जहिले पनि सही मार्गको अवलम्बनद्वारा आप्mनो कर्तव्यपथमा अगाडि बढ्दै भौतिक उपलब्धि हासिल गर्ने र  प्राप्त गरेको त्यस्तो भौतिक उपलब्धिलाई सही रूपमा उपयोग गरी मानव हित र कल्याणमा पनि लगाउन अभिप्रेरित गर्दछ ।

अन्त्यमा प्रत्येक व्यक्तिले आफ्नो जीवन सुखी होस्, शान्त होस् र समृद्ध बनोस् भन्ने चाहना राखेको हुन्छ, परिकल्पना गरेको हुन्छ । यस्तो चाहना राख्नु स्वाभाविक र यो वास्तवमा हामी मानव मात्रको जन्मसिद्ध अधिकार पनि हो ।

तर चाहना राख्दैमा अथवा परिकल्पना गर्दैमा मात्र कुनै पनि कुरा पूरा हुने त होइन । आफ्नो यस परिकल्पनालाई मूर्तरूप दिन हामीले आध्यात्मिक ज्ञान र योगको साधनाबाट  आन्तरिक मनस्थिति शान्त, स्थिर र सन्तुलित राख्दै जीवनलाई सक्रिय र कर्मशील बनाउनेतर्फ पनि निरन्तर प्रयत्नशील र अग्रसर रहनुपर्दछ ।

(विविध तथा समसामयिक लेख रचनाहरूको संग्रह ‘दृष्टिकोण’ बाट यो अंश लिइएको हो । राजेशमान केसीको उक्त पुस्तक नयाँ वर्षको पूर्वसन्ध्यामा विमोचन हुँदैछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment