Comments Add Comment

एन्फा प्रेसिडेन्ट लिगमा त्रिवेणीको दोस्रो जित

९ चैत, नेपालगन्ज । लमजुङको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।

नेपालगन्जमा भइरहेको लिग अन्तर्गत त्रिवेणीले आइतबार जुम्लाको लेकाली युवा क्लबलाई २-१ ले पराजित गरेको छ ।

खेलको अन्तिम मिनेटमा सन्तबहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले खेल जित्दै ३ अंक जोडेको हो । जारी लिगमा त्रिवेणीको यो दोस्रो जित हो । त्रिवेणीले दोस्रो खेल जित्दै ६ अंक बटुलेको छ । लेकाली युवा क्लबले भने तीन खेलबाट १ अंकमात्र जोडन सकेको छ ।

त्रिवेणीका विमल रानाले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जुम्लाको तर्फबाट भुपेन्द्र शाहीले १९औं मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । इन्जुरी टाइममा सन्त बहादुरले गोल गर्दै त्रिवेणीलाई जित दिलाए । खेलमा जुम्लाका भुपेन्द्र म्यान अफ द म्याच घोषित भए ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment