Comments Add Comment

बंगलादेशको शरणार्थी शिविरमा भीषण आगलागी, कम्तीमा सातको मृत्यु

१० चैत, काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थीको बसोबास रहेको शिविरमा सोमबार भीषण आगलागी भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोक्स बजारको भीषण आगलागीको कारण हजारौं रोहिंग्याहरु विस्थापित भएका छन् ।

बंगलादेशको प्रहरीका अनुसार उक्त आगलागीमा परी अहिलेसम्म सातजनाको मृत्यु पुष्टि भएको छ । बंगलादेश प्रहरीका एक वरिष्ठ अधिकारी जाकिर हुसेन खानले उक्त आगलागीमा सातजनाको मृत्यु भएको र त्यसमध्ये तीनजना बालबालिका रहेको बताए ।

सोमबार चार शव निकालिएको खानले बताए । अझैसम्म पनि आगलागीको कारण भने खुलेको छैन । प्रहरीले अहिले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ । सोमबारको आगलागीको कारण कोक्स बजारको १७ हजारभन्दा धेरै छाप्राहरु जलेको र हजारौं शरणार्थी विस्थापित भएको अधिकारीहरुले बताएका छन् ।

सोमबारको आगलागी उक्त क्षेत्रमा रहेका करिब एक चौथाइ शरणार्थीको बसोबास रहेको क्षेत्रमा फैलिएको थियो । अझै पनि धेरै मानिसहरु हराइरहेको शरणार्थीको क्षेत्रमा काम गर्ने संस्थाहरुले बताएका छन् । घटनामा भएको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्न उनीहरुको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment