Comments Add Comment

बिहार विधानसभा बैठकमा हंगामा, सांसदमाथि प्रहरीको लात्ती र मुक्का

११ चैत, काठमाडौं । भारत बिहारको विधानसभा बैठकमा मंगलबार सांसदहरुले हंगामा मच्चाएका छन् । सरकारले ल्याउन लागेको नयाँ प्रहरी विधेयकको विरोधमा विपक्षी दलका सांसदले चर्को विरोध गर्दा विधानसभा बैठक तनावग्रस्त बनेको हो ।

नाराबाजी बढ्दै गएपछि प्रहरी बोलाइएको थियो । संसदमा प्रवेश गरेका प्रहरीले सांसदमाथि कुटपिट सुरु गरेका थिए । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा सदनभित्र प्रवेश गरेको प्रहरीले विधायकहरुलाई लात्ती र मुक्का प्रहार गरिरहेको देखिन्छ । उक्त घटनामा दुई महिलासहित १२ सांसद घाइते भएको समाचारमा जनाइएकाे छन् । केही प्रहरी र सञ्चारकर्मी पनि घाइते भएको बताइएको छ ।

नयाँ प्रहरी विधेयकको विरोध गरिरहेका विपक्षी सांसदहरुको नाराबाजीका कारण संसदको कारबाही पटकपटक रोकिएको थियो । नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रतिलिपि खोसेर च्यातिदिएका थिए । त्यसपछि संसदभित्र प्रहरी बोलाइएको थियो । प्रहरीलाई संसदभित्र बोलाइएको भन्दै सांसदहरुको नाराबाजी झन् चर्कियो । त्यसपछि प्रहरीले विधायकहरुमाथि कुटपिट सुरु गरेका थिए । साथै केहीलाई घिसारेर बाहिर लगेका थिए ।

पछिल्लो केही दिनयता बिहारको विधानसभामा सत्तापक्ष र विपक्षबीच बिहार विशेष सशस्त्र प्रहरी विधेयक २०२१ को विषयमा विवाद हुँदै आएको थियो । यद्यपि उक्त विधेयक मंगलबार ठूलो विरोधका बीच विधानसभाबाट पारित भएको छ ।

विपक्षीले यो विधेयक पारित भएसँगै प्रहरीले अदालतको वारेन्ट विना नै शंकाको आधारमा जो कोहीलाई पक्राउ गरेर जेल हाल्न सक्ने अधिकार पाउने बताएका छन् । सत्ता पक्षले भने यो नियम सामान्य प्रहरीको लागि नभई विशेष सशस्त्र प्रहरीको लागि ल्याइएको भन्दै बचाउ गर्दै आएको छ ।

मंगलबार विधानसभाभित्र सांसदहरुमाथि कुटपिट हुनुभन्दा पहिला नै सडकमा राष्ट्रिय जनता दलका नेता र प्रहरीबीच हिंसात्मक झडप भएको थियो । बैठक शुरु हुनुभन्दा अगाडि नै विपक्षी जनता दलले नयाँ प्रहरी विधेयकका साथै महँगी, बेरोजगारी, अपराध न्यूनीकरण र भ्रष्टाचारको मुद्दामा विधानसभा घेर्ने कार्यक्रम थियो ।

यद्यपि प्रशासनले भने उक्त कार्यक्रमलाई अनुमति दिएको थिएन । तर, ¥याली भने रोकिएन । सो क्रममा प्रहरीले ¥यालीलाई रोक्न खोज्दा झडप भएको हो ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment